२५ जेठ, काठमाडौं। नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

पीडितहरु महिना दिनदेखि राजधानीमा भौतारिरहेको भन्दै कञ्चनपुर-१ बाट निर्वाचित सांसद तामाङले पीडितको पुनस्र्थापना गर्न सरकारसँग माग गरेका हुन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘कुरो उठाएको उठायै छु । सरकारले गर्छु मात्र भन्ने। हाम्रो कञ्चनपुर जिल्लाको आरक्ष पीडितहरुको वर्षौदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन।’

नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भन्ने आश गरेर पीडितहरु काठमाडौं आएको तर हप्तौंदेखि यतै भौतारिरहेको भन्दै सांसद तामाङले सोधे, ‘सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ?’

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित पीडित परिवारको अझै पुनस्र्थापना हुन सकेको छैन। सडक र नदी किनारमा अस्थायी टहरा बनाएर बसिरहेका छन्।

आरक्ष पीडित संघर्ष समितिमार्फत आन्दोलन गरिरहेका आरक्ष पीडितहरु काठमाडौमा सांसद, मन्त्री र प्रधानमन्त्रीसँग भेट गरिरहेका छन्। तर उनीहरुको समस्या समाधान भएको छैन।

ससद तामाङले कञ्चनपुरको छोटी भन्सार कार्यालय निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराए। ‘प्रधानमन्त्रीज्यूले जहिले पनि बन्छ भन्नुहुन्छ, तर अहिलेसम्म नबनेकाले राजस्व चुहावट भइरहेको छ। यो कहिले बन्छ ?’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here