२५ जेठ, काठमाडौं। नेपालले एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । थाइल्याण्ड उक्त प्रतियोगितामा सहभागी हुन नपाउँदा नेपालले यो अवसर पाएको हो ।

जुन १२ अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि निकै थोरै समय बाँकी भएको र भिसाको समस्या नभएको खण्डमा नेपालले पूर्ण सदस्यीय राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ।

उक्त प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टिमलाई यस प्रतियोगितामा पठाउनेछन्।

प्रतियोगिता १२ जुन देखि २१ जुनसम्म हङकङमा हुँदैछ । थाइल्यान्डले भिसा समस्याका कारण बताएर नाम फिर्ता लिए पछि नेपालले खेल्ने अवसर पाएको हो।

‘थाईल्यान्डले नखेल्ने भयो। उनीहरुको भिसाको समस्या भन्ने सुन्नमा आएको थियो तर ठ्याक्कै यही भन्ने चाँहि थाहा छैन । क्यानले यस प्रतियोगिताका लागि तयार छ।’ क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने ।

‘हामीले खेलाडीको भिसाका लागि प्रक्रिया सुरु गरिसकेका छौं । भिसा आएको खण्डमा हामी शनिबार वा आइतबार त्यसतर्फ जान्छौं।’ नेपालले टिकट भने आफ्नो खर्चमा जाने उनले बताए।

‘टिकटहरु हामीले नै काट्नुपर्छ। ३०-३५ लाख खर्च आउँछ। हामी खर्चका लागि तयार छौं। हामी भिसाको प्रतिक्षामा छौं।’ पाठकले भने ।

आइतबार मात्र मलेसियासँग द्विपक्षीय टी-२० सिरिज खेलेर नेपाल फर्किएको नेपाली महिला टोलीलाई आफ्नो स्तर र क्षमता प्रदर्शनका रुपमा यो प्रतियोगिता ठूलो अवसर हो ।

समूह ‘ए’ मा नेपाल, हङकङ, भारत र पाकिस्तानको ए टोली हुनेछन्। समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुनेछन् ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here