३२ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको बताए । ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, सांसद पन्तले भने, ‘यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’

नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न भएको उनले बताए । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले प्रष्ट पार्न सरकारसँग माग गरे ।

ईपीजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्य पनि खेदजनक रहेको भन्दै एमाले सांसद पन्तले प्रश्न गरे, ‘के ईपीजी प्रतिवेदनबारे राजदूतले व्यक्त गरेको विचारले सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने अत्यन्त आपत्तिजनक छ । ईपीजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुप¥यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here