काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्ष भित्रमै राजसंस्था पुन:स्थापना गर्ने घोषणा गरेका छन्। शुक्रबार राजधानीमा केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्था पुन:स्थापित गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा गरेका हुन्।
‘केही वर्षभित्रमा नै राजसंस्था पुन: स्थापना गर्नेछौं र नेपाललाई हिन्दु राष्ट्र बनाउनेछौँ। राजसंस्थाको एजेण्डालाई मुख्य एजेण्डा बनाउने र त्यो एजेण्डा पूरा गर्न आन्दोलनको घोषणा रहर पूरा गर्न मात्र होइन। ,हाम्रो शोख र लहडले गरिएको होइन। यो कसैका विरुद्ध लक्षित छैन। यो रणनीतिक योजना पनि होइन। यो कांग्रेस, एमाले, माओवादी वा राप्रपा नेपाल भएर होइन। राष्ट्रलाई माया गर्ने नेपाली भएर छातीमा हात राखेर सोचौँ,’उनले भने।
अध्यक्ष थापाले तीन दलका शीर्ष नेताहरूलाई विगतका घटनाक्रमबारे आत्मसमीक्षा गर्न पनि आग्रह गरेका छन्। उनले अहिलेको अवस्थाबारे पुनर्विचार गर्नका लागि आग्रह गरेका हुन्।
‘म तीन दलका नेतालाई पनि स्वयं प्रचण्ड, देउवा र ओलीहरूलाई पनि देशको अवस्थाबारे इमान्दारीपूर्वक समीक्षा गर्न आग्रह गर्न चाहन्छु। कुनै पनि देशको निमित्त व्यवस्था साध्य होइन साधन मात्रै हो। साध्य त हाम्रो राष्ट्रिय, प्रजातन्त्र, जनसम्प्रभुता र मुलुकको आर्थिक विकास हाम्रो साध्य हो। यो पूरा गर्न व्यवस्था र तन्त्रलाई साधनको रूपमा मात्रै ग्हण गरेका छौं। यदि आफ्नो लक्ष्य र साध्य पूरा गर्ने क्रममा साधन असफल भयो। भने त्यो साधनलाई परिवर्तन गर्ने हिम्मत गर्नुपर्दछ। यदि तपाईहरू राष्ट्रको अस्तिव जोगाउन चाहनुहुन्छ भने प्रजातन्त्रलाई बलियो बनाउने, सुशासन कायम गरेर देशमा आर्थिक समृद्धि कायम गर्न चाहनुुहन्छ भने आफ्ना पूर्वाग्रहबाट मुक्त भएर नयाँ नेपाल निर्माण गरेर सबै नेपाली अटाउने व्यवस्था पुनर्विचार गर्न आग्रह गर्दछु,’ उनले भने।
अध्यक्ष नेपालले ०६३ सालको आन्दोलन दरबार र आन्दोलनकारी शक्तिका बीचमा सहमति भएर अन्त्य भएको उल्लेख गर्दै राजाले ०६३ वैशाख ११ गते राष्ट्रको नाममा दिएको सम्बोधनको मस्यौदा आन्दोलनकारी दलहरूले तयार गरेको बताए।
‘त्यो मस्यौदा तयार गरेर राजाबाट घोषणा हुँदा ०४७ सालको संविधानमा टेकेर संविधानसभाको चुनाव गर्ने र नयाँ संविधान बनाउने र नयाँ संविधानमा जनतामा निहीत सार्वभौमिकतालाई सुनिश्चित गर्दै संविधानसहितको राजसंस्था बनाउने सहमति भएको थियो। स्व. गिरिजा कोइराला, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, माधव नेपाल, सुजाता कोइरालाले जनतालाई जवाफ दिनुपर्छ। के सम्झौता सहमति भएको थियो। त्यो सहमति र सम्झौतालाई किन रद्द गरियो?,’ उनले प्रश्न गरेका छन्।











