धनगढी : कैलाली जिल्लाको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्त प्रदर्शनमा उत्रिएका छन्।

पत्थरीको शल्यक्रियापछि उच्च रक्तश्राव भएर डाक्टरले मिर्गौला निकालेपछि कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन्।

उनीहरुले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन्। चौधरीको उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले पीडित पक्षले उठाएका मागका सम्बन्धमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी प्राप्त भएको बताए।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल भर्ना भएका चौधरीको डाक्टर जोनेश तिवारीको टिमले बायाँ मिर्गौलामा पत्थरी रहेको भन्दै शल्यक्रिया गरेका थिए।

शल्यक्रियाबाट बायाँ मिर्गौलाको ११ एमएम र ९ एमएमको स्टोन निकालिएको थियो। उच्च रक्तश्राव नरोकिएपछि बिरामी र आफन्तको सहमति लिएर डाक्टरले बायाँ मिर्गौला काटेर निकालेका थिए। मिर्गौला निकालेपछि भेन्टिलेटरमा राखिएका चौधरीलाई अस्पतालले सोमबार बिहान मृत घोषणा गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here