काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन्।
एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिएका हुन्।
तस्वीर सार्वजनिक गर्दै उनले कोहली एक क्रिकेटर मात्रै नभएर भावना भएको उल्लेख गरेका छन्। कामीले लेखेका छन्, ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।’
यस्तै, नेपाल एसिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ। समूह ए को आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित हुँदै नेपालको सुपर फोरमा पुग्ने संभावना सकिएको हो।
१ सय ४५ रनको नयाँ लक्ष्य पछ्याएको भारतले १७ बल बाँकी छँदै भेट्टायो। भारतका लागि २० दशमलव १ ओभरको खेलमा जितका निम्ति २ रन चाहिँदा शुभमन गिलले चौका प्रहार गरेका थिए। उनको सो चौकापछि भारतले बिना कुनै विकेट १ सय ४७ रन बनाएर खेल जितेको हो।
यसअघि नेपालले दिएको २ सय ३१ रनको लक्ष्य भारतले पछ्याउने क्रममा वर्षा भएपछि खेल २ घण्टा रोकिएको थियो। वर्षाका कारण डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा छोट्याइएको खेलमा भारतले जितका निम्ति १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो।





