विराटनगर : राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशको जग बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
कोशी प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
शासक ठिक भए प्रशासन ठिक हुने उनले बताए। भ्रष्टाचार यत्रतत्र भएको, सरकारी जग्गा अपचलन हुने, क्विन्टलका क्विन्टल सुन तस्करी हुने, मानव तस्करी हुने अवस्था रहेको बताउँदै उनले यसखालका गतिविधि यो प्रदेशमा प्रवेश गर्नै दिन नहुने सिटौलाले बताए।
‘भ्रष्टाचार अन्त्य गर्न र प्रशासनलाई राम्रो बनाउन कानून आवश्यक भएको छ। विधिमा मुलुक चलेको छैन। कोही एक व्यक्तिले पूर्ण समुदायलाई गाली गर्दा सरकार चुप लागेर बसेको छ,’ उनले भने, ‘मुलुकमा औद्योगिकीकरण गर्नुपर्छ। पूर्वाधार निर्माण गर्नुपर्छ तर आज त्यसको अवस्था शून्य छ।’
कुनै एक जना व्यक्तिलाई रिस उठ्यो भन्दैमा तस्वीर राखेर त्यहाँ थुक्नु, सार्वजनिक अपमान गर्नु भनेको देशको बेइज्जत भएको सिटौलाले भने।
झापामा आयोजित एमाले कार्यक्रममा दुर्गा प्रसाई निकटका व्यक्तिहरुले गरेको आक्रमणविरुद्ध आक्रोशित हुँदै सिटौलाले पुलिस रमिते भएको बताए।





