१४ माघ, काठमाडौं । प्रतिनिधि सभा नियमावली संशोधन मस्यौदा समिति बनाउने तयारी भएको छ । यसका लागि संसद सचिवालयले राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ ।
संसदमा दर्ता भएका विधेयकहरू लामो समयसम्म होल्ड हुने प्रवृत्ति रहेकाले त्यसलाई अन्त्य गर्ने गरी नियमावली संशोधन गर्न लागिएको नेताहरू बताउँछन् । दलहरूले कानुन निर्माणलाई संसदभित्रको प्रक्रियालाई समयसीमाभित्र बाँध्ने प्रयास गरेका छन् । यसका लागि नियमावली संशोधन गर्न लागिएको हो ।
नियमावली संशोधन मस्यौदा समिति प्रतिनिधि सभाले नै बनाउनुपर्ने हुन्छ । यसको गृहकार्य संसद सचिवालयले गरिरहेको छ ।
सभामुख देवराज घिमिरेले सोमबार प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकहरूसँग आयोजना गरेको छलफलमा नियमावली संशोधन मस्यौदा समिति बनाउने विषय समेत एजेण्डामा छ ।
सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिसकेपछि राजनीतिक सहमतिमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरेर प्रतिनिधि सभाबाट नियमावली मस्यौदा समिति घोषणा गर्ने तयारी छ ।
संसद अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । अधिवेशन सुरु भए लगत्तै नियमावली संशोधन मस्यौदा समिति गठन गर्ने दलहरूको तयारी छ ।





