नेसपाको महाधिवेशन : भट्टराई नेतृत्वमा निर्विकल्प
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को आगामी नेतृत्वमा डा. बाबुराम भट्टराई नै प्रमुख दावेदार देखिएका छन्। माघ २७ देखि २९ गतेसम्म प्रज्ञा भवन, कमलादीमा हुने महाधिवेशनमा संयोजक भट्टराईलाई टक्कर दिनसक्ने कुनै अन्य नेता नदेखिएको नेताहरू बताउँछन्।
गत कात्तिक ५–६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको सम्पूर्ण पदाधिकारी चयनका लागि प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिसकेको छ। तर, वैकल्पिक शक्तिको नेतृत्व गर्न सक्ने क्षमता, अनुभव, अध्ययनशीलता जस्ता पक्षलाई हेर्दा भट्टराई नै उपयुक्त नेता भएकाले उनलाई चुनौती दिने सम्भावना नरहेको प्रवक्ता कृष्ण शर्माको भनाइ छ।
‘प्रतिस्पर्धा खुल्ला, तर भट्टराईको विकल्प छैन’
शर्माका अनुसार इच्छुक सबैले उम्मेदवारी दिन सक्ने भए पनि भट्टराईको विकल्प खोज्ने सोच पार्टीभित्र नरहेको स्पष्ट हुन्छ। “सबै पदमा प्रत्यक्ष निर्वाचन हुनेछ। जोसुकैले प्रतिस्पर्धा गर्न सक्छन्, तर अहिलेसम्म बाबुराम भट्टराईको विकल्पमा अन्य कुनै नेता अगाडि आएका छैनन्,” उनले भने।
महाधिवेशनपछि पुराना दलहरूसँग मुलुकले निकास पाउने सम्भावना न्यून रहेको निष्कर्ष निकाल्दै भट्टराईकै नेतृत्वमा वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गरिने नेताहरू बताउँछन्। सुशासन र समुन्नत राष्ट्र निर्माणको लक्ष्यसहित भट्टराईको नेतृत्वमा पार्टी अघि बढ्ने योजना बनाइएको छ।
नयाँ वैकल्पिक विचारको मन्थन
पार्टीका केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलका अनुसार यो महाधिवेशन नेतृत्व चयनभन्दा बढी नयाँ वैकल्पिक विचार निर्माणमा केन्द्रित हुनेछ। “बाबुराम भट्टराई आफैंले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने इच्छा व्यक्त गर्नुभएको छ। तर, पार्टीभित्र अधिकांशले वैकल्पिक धारको नेतृत्व उहाँकै हातमा रहनुपर्ने मत व्यक्त गर्नुभएको छ। नेतृत्वका लागि कुनै रोकावट छैन, तर पार्टीको मूल मन्थन वैकल्पिक विचारको विकासमा केन्द्रित हुनेछ,” पोखरेलले भने।
भट्टराईको वैकल्पिक शक्ति यात्रा
वामपन्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहेका भट्टराईले २०७२ सालमा संविधान जारी भएपछि नयाँ वैकल्पिक शक्ति निर्माणको यात्रामा होमिएका थिए। माओवादी आन्दोलनका प्रमुख रणनीतिकारमध्येका एक रहेका भट्टराई २०७२ असोज ९ गते माओवादी पार्टी परित्याग गर्दै नयाँ शक्ति नेपाल गठन गर्नतर्फ लागे।
उनले समतामूलक समृद्धि, समावेशी लोकतन्त्र, सुशासन, स्वाधीनता र समुन्नत समाजवादलाई आफ्नो पार्टीको मूल दर्शनका रूपमा अघि सारे। वर्तमान नेसपा (नयाँ शक्ति) पनि यही धारको निरन्तरता रहेको नेताहरूको दाबी छ।
महाधिवेशनको तयारी अन्तिम चरणमा
महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। प्रवक्ता शर्माका अनुसार बन्दसत्रका लागि आवश्यक दस्तावेज तयार भइसकेको छ भने प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ। देशभरबाट करिब १,५०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्।
महाधिवेशनको उद्घाटन सत्रमा परम्परागत दलहरूबाहेक विभिन्न नयाँ वैकल्पिक शक्ति, नागरिक समाजका अगुवा तथा बौद्धिक वर्गलाई आमन्त्रित गरिनेछ।
नयाँ नेतृत्व संरचना
नयाँ कार्यसमिताका लागि ९० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने १० प्रतिशत मनोनीत गरिनेछ।
गत विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्दै केन्द्रीय समितिको आकार घटाएको थियो। हाल पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय रहनेछ भने पदाधिकारीमा ११ सदस्य रहनेछन्। अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति, १ मधेसी, १ खसआर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्षको व्यवस्था गरिएको छ।
पार्टीले युवा नेतृत्वको सुनिश्चितता गर्दै स्थानीय तहमा ४० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत, र केन्द्रमा २० प्रतिशत युवाहरूलाई प्रतिनिधित्व दिने नीति लिएको छ। त्यस्तै, पार्टीका सबै तहका समितिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ।
यसरी महाधिवेशनले नेतृत्व चयनसँगै नयाँ वैकल्पिक धारलाई अझ मजबुत बनाउने गरी पार्टीको भावी दिशा तय गर्ने लक्ष्य राखेको छ।




