१९ फागुन, बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विपक्षी दल निकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तोडफोड गरेका छन् ।

विभिन्न माग राखेर निर्वाचन आयोगको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका विद्यार्थी संगठनले माग पूरा नगरी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै सोमबार क्याम्पसको हलमा तोडफोड गरेका हुन् ।

आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय देशव्यापी रूपमा तोकिएको थियो । संगठन दर्ताकै लागि एमाले निकट विद्यार्थी संगठनले तयारी र छलफल गरिरहँदा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनको समूहले हल तोडफोड गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति विद्यार्थी संगठनहरूसँग बैठक बसिरहेका बेला अन्य संगठनले दर्ता गर्न माग गरिरहेका थिए ।

बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले जानकारी दिए ।

विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गणमा टायर बालेर विरोध समेत जनाएका छन् ।

विपक्षी विद्यार्थी संगठनहरुले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आए पनि त्यो नगरेर निर्वाचनको प्रक्रियामा गएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।

निर्वाचन कार्यक्रम स्थगित

चुनावको विषयलाई लिएर विद्यार्थीहरू तोडफोडमै उत्रिएपछि क्याम्पसले स्ववियु निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।

क्याम्पसमा सोमबार भएको घटनापछि विज्ञप्ति जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनका लागि पूर्व प्रकाशित निर्वाचन तालिका अनुसार सम्पूर्ण कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थागित गरिएको निर्वाचन अधिकृत गणेशप्रसाद पाण्डेयले बताए ।

‘क्याम्पसमा सृजना भइरहेको असहज परिस्थितीका कारण अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थागित भएको जानकारी गरिन्छ । साथै क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संघ संगठनहरूको प्रतिनिधत्व हुनेगरी सर्वपक्षीय बैठकको सहमतिमा प्रक्रिया अगाडि बढाइने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here