८ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
सोमबार बिहान पौने १० बजेको समयमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल धरान लगिएको थियो।
उपचारका क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन् ।
यस्तै, विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन् । उनीहरू तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न बस र बसका चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





