८ भदौ, काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
‘अहिले पनि सुरुङमार्ग परीक्षणकै क्रममा छ, उनले भने, सोही क्रममा आजबाट साना सवारी खुला गरिएको छ ।’ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए ।
उनका अनुसार अवस्था हेरेर १/२ दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला हुनेछ । सञ्चालन समयलाई बिहान ७ देखि साँझ ८ सम्म र त्यसपछि बिहान ६ देखि राति १० बजेसम्म विस्तार गर्ने योजना छ ।





