Home राजनीति बनेपा जग्गा काण्ड: अख्तियारको पत्रपछि रामदेव र बालकृष्णले बयान दिन मानेनन् ।

बनेपा जग्गा काण्ड: अख्तियारको पत्रपछि रामदेव र बालकृष्णले बयान दिन मानेनन् ।

0
63

काभ्रेपलाञ्चोकको बनेपामा उद्योग सञ्चालनका लागि लिइएको हदबन्दी छुटको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका संस्थापक योगी रामदेव र उनका साझेदार आचार्य बालकृष्णलाई बयानका लागि बोलाएको छ।

तर, जग्गा कारोबारका विषयमा पतञ्जलीका नेपाल प्रमुख शालीग्राम सिंह नै जिम्मेवार रहेको भन्दै दुवैले बयान दिन अस्वीकार गरेका छन्। पतञ्जली पक्षले अख्तियारलाई पठाएको पत्रमा सिंहलाई नेपालमा गरिने सम्पूर्ण कार्यका लागि वारेसनामा दिइएको उल्लेख छ, जसअनुसार उनी नै यस विषयमा जवाफदेही हुने भनिएको छ।

१ अर्ब ५१ करोड रेमिट्यान्समार्फत भित्र्याएको खुलासा

अख्तियारको अनुसन्धान अनुसार पतञ्जली योगपीठ नेपालमा सन् २०१५ यता करिब १ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ। यो रकम न त वैदेशिक लगानीको रूपमा, न त समाज कल्याणसम्बन्धी कानुनी प्रावधानअनुसार आएको हो। बरु, रेमिट्यान्स (प्रवासी आय) शीर्षकमा एसबीआई बैंक र एभरेस्ट बैंकमार्फत ल्याइएको पाइएको छ।

उद्योग सञ्चालनको प्रयोजनका लागि रेमिट्यान्स शीर्षकमा रकम भित्र्याएको देखिएपछि नेपाल राष्ट्र बैंकले समेत यस विषयमा छानबिन गरिरहेको जनाएको छ।

भारतमा म्याद तामेली पत्र

अख्तियारले गत फागुनमै भारतको हरिद्वारस्थित पतञ्जली कार्यालयमा म्याद तामेली पत्र पठाएको थियो। सो पत्रको जवाफ वैशाख दोस्रो साता प्राप्त भएको हो। उक्त पत्रमा पतञ्जलीले नेपालमा हुने कार्यका लागि सबै अधिकार शालीग्राम सिंहलाई दिएको भन्दै रामदेव र बालकृष्णको सट्टा सिंहले नै जवाफ दिनुपर्ने उल्लेख गरिएको छ।

NO COMMENTS