१० कात्तिक, काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत सीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वैचारिक मतभेद कायमै रहेको बताएका छन्।

समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको लागि संवाद चलिरहेका बेला नेता सीले यस्तो बताएका हुन्।

‘उनीहरू सुशीला कार्की नेतृत्वको सरकारको निरन्तरतामा चुनाव चाहिरहेका छन्। हामीले सर्वपक्षीय सरकार भनिरहेका छौं। सर्वपक्षीय सरकारपछि मात्रै चुनावको विश्वसनीय आधार बन्छ भन्ने हाम्रो मत छ। यहाँनेर उनीहरूसँग हाम्रो वैचारिक र राजनीतिक मतभेद देखियो,’ नेता सीले अनलाइनखबरसँग भने।

तथापि, विचार मिल्नेसँग एकता गर्ने विषयलाई पार्टीले बन्द नगरेको उनको भनाइ छ। तत्काललाई माओवाद केन्द्र र एकीकृत समाजवाद मिलुन् भनेर शुभकामना दिएर आफूहरू पार्टी केन्द्रित गतिविधिमा लागेको उनको भनाइ छ। उनी थप्छन्, ‘माओवादी केन्द्र र समाजवादी चाहिँ एकतातिर जान खोजेको देखिन्छ। त्यो राम्रै हो शुभकामना दिएका हौं।’

माओवादी र समाजवादीसँग एकता तत्काल हुन सक्दैन भन्नुको अर्को आधारमा रूपमा उनले बुझाइलाई लिइएको बताएका छन्।

उनी भन्छन्, ‘एकता के को लागि, किन गर्ने भनेर प्रष्ट हुने गरी गर्नुपर्छ। एकता आवश्यक छ। तर एकता गर्दा विचारलाई केन्द्रमा राख्नुपर्छ। संख्यालाई केन्द्रमा राख्नुहुँदैन। विचारलाई केन्द्रमा राखेर परिणाम दिने गरी एकता गर्नुपर्छ।’

अहिलेको सरकार जेनजी विद्रोहको भावनाविपरित बनेको निष्कर्ष समेत निकालिसकेको अवस्थामा आफ्नो पार्टीले यही सन्देश जनतामा प्रवाह गर्न भेला लगायतका कार्यक्रम राखेर अगाडि बढिएको उनले बताए।

नेकपाले यही २० कात्तिकमा काठमाडौंमा भेला गर्दैछ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका छन्। २० कात्तिकको प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here