१ माघ, गुल्मी । तीन जिल्लाको संगमस्थल तथा ऐतिहासिक–धार्मिक क्षेत्र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–स्थित रिडीमा माघे सक्रान्ति मेलाको अवसरमा श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलमा रहेको रिडीमा माघे सक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने र हृषिकेश मन्दिरको दर्शन गर्ने भक्तजन बिहानैदेखि भीडभाडका साथ उपस्थित भएका छन् ।
माघे सक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरी हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । यही विश्वासका कारण हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि रिडी क्षेत्रमा जम्मा हुने गरेका छन् । रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसहित देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको सहभागिता रहने गरेको छ ।
चार धाममध्ये एक मानिने प्रसिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सक्रान्ति मेला सुरु भएसँगै स्नान तथा दर्शन गर्नेहरूको भीड लाग्ने गर्दछ । यहाँ स्नान गर्नाले देवऋण र पितृऋण तिरिने, अन्जानमा गरेका पाप नष्ट हुने र मनमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको भक्तजनहरूको भनाइ छ ।
धार्मिक मान्यताअनुसार यस क्षेत्रमा प्राचीनकालमा देवदत्त ऋषिले तपस्या गरेका थिए । धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने रुरुक्षेत्रको हृषीकेश मन्दिरमा नेपालकै सबैभन्दा ठूलो भगवानको मूर्ति समेत रहेको छ ।





