१५ माघ, डोल्पा । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व-बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् ।

उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र परेको डोल्पा आउँदै गरेका मुकुन्द पौडेलले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको छ । केही यात्रुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ।

फोन मार्फत् जानकारी दिँदै पौडेलले भने, ‘हामी दुईवटा साना पसलमा आगो तापेर बसेका छौँ। तर एक जना अशक्त नागरिक भने गाडीमै छन्, खानपिनको व्यवस्था छैन, अवस्था निकै नाजुक छ।’

हिउँमा फसेको घण्टौंसम्म पनि उद्धारका लागि सम्बन्धित निकायबाट पहल नभएको यात्रुहरुको गुनासो छ । यात्रुहरूले तत्काल उद्धार, खाना, न्यानो कपडा र स्वास्थ्य सहयोगको माग गरेका छन्। हिउँमा फसेका अधिकांश यात्रुहरु डोल्पाका रहेको बताइएको छ।

रुकुम पूर्वबाट अघि बढेका यात्रु बागलुङ खण्डमा फसे

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार रुकुम पूर्वमा फसेका सवारी साधन र तिनमा सवार यात्रुहरुलाई बुधबार नै उद्धार गरेर बागलुङतर्फ पठाइएको थियो ।

उनले भनिन्, ‘रुकुम पूर्वी भागमा यात्रुहरु अलपत्र परेका छैनन् । मेरो आफ्नै नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित भूमे गाउँपालिकासँग समन्वय गरेर डोजर लिएर गयौँ । हिउँ पन्छाएर उद्धार गरेका थियौं ।’

उनका अनुसार सरकारी गाडीमा राखेर यात्रुहरुलाई रुकुम पूर्वको सिमाना कटाइएको थियो । रुकुम पूर्वबाट अघि बढेकाहरु बागलुङ खण्डमा रोकिएका थिए ।

त्यहाँ फसेकाहरुलाई पनि गन्तव्यमा पठाउन दुई जिल्लाबीच समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ । ‘हिजो हिउँ पन्छाएर बाटो आंशिक खुलायौं । आज पूर्णरुपमा खुलाउने प्रयास गर्छौं,’ उनले भनिन् ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पनि हिउँ बाक्लो नभए पनि बाटो चिप्लो भएकाले केही गाडीहरु बीच बाटोमा रोकिएको बताए । हिउँ पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हिजोसम्म हिउँ नै पर्यो खुलाउन सकिएन । आज बिहानपख पनि हल्का हिउँ परेर बाटो चिप्लो भएको छ । आज बाटो खुलाएर गन्तव्यतर्फ पठाउँछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here