काठमाडौंमा घरभित्र निस्सासिएर दम्पत्तिको मृत्यु
काठमाडौं घरभित्र आगो बालेर सुतेका एक दम्पत्तिको निस्सासिएर मृत्यु भएको छ।
काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएइर मृत्यु भएको अनुमान गरिएको छ।
घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्।

कानुनमन्त्री बडुलाई काेभिड संक्रमण
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९काे संक्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।
यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि काेभिड-१९ संक्रमण भएकाे थियाे । उनी संक्रमणमुक्त भइसकेका छन्

राष्ट्रियसभा बैठक माघ १७ गते का लागी आह्वान
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको बैठक आह्वान गरेका छन् ।
माघ १७ गते दिउँसो १ बजे बैठक बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रियसभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।
राष्ट्रियसभा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत भदौबाट अवरोध गर्दै आएको छ ।

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेसन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो ।
सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । प्रअ बस्नेतका अनुसार विद्यालयले सातवटा परियोजना गरेको थियो । “सन् २०२०/२१ का लागि विभिन्न सातवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेश गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्ताव छनोट भएर प्राप्त अवार्डले विद्यालयको गौरव बढाएको छ”, बस्नेतले भने ।
विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो । त्यस्तै सामुदायिक र संस्थागत विद्यालयसँग मिलेर शिक्षण सिकाइ, विदेशी विद्यालयसँग पनि सम्बन्ध राखेर त्यहाँको विद्यार्थी र निर्मलका विद्यार्थीबीच शिक्षण सिकाइ आदान–प्रदान गरिएको बस्नेतले बताए । निर्मलले भारतको एक विद्यालयसँग पनि सहकार्य गरेर काम गरेको थियो । त्यहाँको स्थानीय भाषा र दमौलीको स्थानीय दरै भाषाका विषयमा विद्यार्थीबीच अनुभव आदानप्रदान गरिएको थियो ।

काँग्रेस कार्यालयमा मुख्य सचिव रिक्त
नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो ।
यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा विजयी उम्मेदवारलाई जनमोर्चाले दियो बधाई
राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा निर्वाचनमा विजयी हुने पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई बधाई दिएको छ । बिहीबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी विजयी उम्मेदवारहरूलाई बधाई तथा शुभकामना दिएका हुन् । अध्यक्ष केसीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई समेत धन्यवाद दिएका छन् ।
देशमा प्रतिगमनको खतरा कायमै रहेका बेला पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने र त्यसो गर्न सकेमात्र प्रतिगमनलाई परास्त गर्न सहयोग पुग्ने आफनो मान्यता आफ्नो दलले अघि सारेको र यो निर्वाचनको परिणामले त्यसलाई सही सावित गरेको समेत जनमोर्चाले दाबी गरेको छ । यो निर्वाचनमार्फत एमालेको पराजयले गठबन्धनका उम्मेदवार विजयी हुनुका साथै प्रतिगमनलाई परास्त गर्न तथा गणतन्त्रको रक्षाको संघर्षलाई समेत सहयोग पुगेको विज्ञप्तिमा उल्लेख छ ।

माघ २३ देखि विद्यालय खोल्न दिन शिक्षा मन्त्रीसँग प्याब्सनको माग
निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो ।
खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षामन्त्री पौडेललाई माग गरेको अध्यक्ष टीकाराम पुरीले रातोपाटीलाई बताए
उनले भने, ‘सबै कुरा भइरहेको छ । अहिले शिक्षा क्षेत्रमा डेडलक छ । अब हामीले के गर्ने त ? १५ गतेसम्म बन्द भनेको छ । केही दिनअघि शिक्षा मन्त्रालयले २० गतेसम्म खोप अभियान चलाउने भनेको छ । ठीक छ । २० गतेपछि हामीले के गर्ने ? शिक्षा मन्त्रालयको सोच के छ भनेर सोध्यौं ।’
खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नको माग गरिएको उनको भनाइ छ । आउने सप्‍ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताए । यस्तै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले जनाकारी दिए ।

जग्गा खोज्दै मधेस प्रदेश सरकार
जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो ।
प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन मर्मत सम्भार गरी आफ्ना काम÷कारबाही सञ्चालन गर्दै आएको छ भने प्रदेशसभा सचिवालयको कार्यालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन भइरहेको छ ।

दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा एक मजदूर बेपत्ता
सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्।
आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारुको उद्वार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ । आज करिब ४÷५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप विछ्याउन जाने क्रममा सामग्रीसहित चारजना मजदूर चढेको बकेट बिचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ।

भैरहवा विमानस्थल सञ्चालनको तयारी
रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ। भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन्।
बुद्धबार सडक मार्ग हुँदै काठमाडौंबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन्। उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कने छन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आईसीबी १ र आईसीबी २ को काम सम्पन्न गरेकोे छ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा सिलान्यास गरेको राष्ट्रिय गौरवकोे आयोजना अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेशन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ ।
टोलीले नै प्रविधिक काम एक महिनामा सक्ने गरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।

उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा अज्ञात क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ।
यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो। चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकको प्रयासलाई रोकेका छन्।
यो कदम उत्तर कोरिया सम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बन्दसत्र बैठक अघि आएको हो। यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रो पटक यस्तो बैठक हुन लागेको, अल जजीराले जनाएको छ।
उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ जसले “कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको छ।” यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो।

चिनियाँ सेनाद्वारा अपहरण गरिएका युवक भारतलाई बुझाइयो
चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ।
भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन्।
मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताए।
अरुणाचल प्रदेशका १७ वर्षीय अपर सियांग जिल्लाको जिदो गाउँमा बस्ने गर्छन्। उनी गत १७ जनवरीदेखि बेपत्ता थिए।
उनलाई चिनियाँ सेनाले अपहरण गरेको समाचार भारतीय मिडियामा आएका थिए। अपर बेपत्ता भएको समाचार सार्वजनिक भएपछि कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए।

पावेलको शतकले वेस्ट इन्डिजको जित
रोभमन पावेलले शतक बनाएको खेलमा वेस्ट इन्डिजले बिहीबार बिहान तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्डलाई २० रनले हराएको छ । जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ ।
पावेलले ५३ बलमा १०७ रन बनाएपछि बारबाडोसस्थित केनसिङ्टन ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२४ रन बनाएको थियो । २२५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी इंग्ल्यान्डले ९ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो ।
आक्रामक ब्याटिङ गरेका पावेलले ५३ बलमा ४ चौका र १० छक्कासहित १०७ रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो शतक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here