१७ साउन, काठमाडौं । पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदा घोषणा गरेको छ ।

अन्नपूर्ण गाउँपालिका पुर्जाको जन्मथलो हो । उनी अन्नपूर्ण गाउँपालिका-२ दाना निवासी हुन् । दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मानस्वरूप सोमबार गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आइतबार सूचना जारी गर्दै पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

सूचनामा नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

उनको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाले शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here