Home समाचार कसको आग्रहमा ट्रम्पले रोके इरानमाथिको हमला ?

कसको आग्रहमा ट्रम्पले रोके इरानमाथिको हमला ?

0
53

१७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित सैन्य हमला तत्कालका लागि रोकेको घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले सम्झौताको नयाँ रूपरेखा तय भएको भन्दै हमला रद्द गरिएको जानकारी दिएका हुन्।

यसअघि ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका थिए। तर अचानक हमला रोक्ने निर्णयमा पुग्नुको पछाडि मध्यपूर्वका शक्तिशाली राष्ट्रहरूको सघन कूटनीतिक पहलले काम गरेको देखिएको छ।

अमेरिकी समाचार वेबसाइट एक्सियोसको रिपोर्टअनुसार, साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए। सो वार्ताका क्रममा उनले इरानविरुद्धको सम्भावित सैन्य कारबाहीलाई लिएर गहिरो चिन्ता व्यक्त गर्दै दुई देशबीच बढ्दो तनाव कम गर्न ट्रम्पलाई विशेष अपिल गरेका थिए।

साउदी अरब मात्र नभई, अमेरिका र इरानबीचको तनाव कम गर्न कतार, संयुक्त अरब इमिरेट्स (यूएई), टर्की र पाकिस्तान पनि कूटनीतिक प्रयासमा जुटेका थिए।

तनाव कम गर्ने यसै प्रयासअन्तर्गत शनिबार कतारी मध्यस्थकर्ताहरूले इरानी विदेशमन्त्री अब्बास अराघची, ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ओमानी अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरेका थिए।

यी बैठकहरूमा विशेषगरी होर्मुज स्ट्रेट पुनः खोल्ने सम्भावित सम्झौताको विषयमा गम्भीर छलफल भएको थियो।

ट्रम्पको दाबी : इरान र मध्यपूर्वका देशले आग्रह गरे

ट्रम्पले भने ट्रुथ सोसलमा गरेको पोस्टमा इरान र मध्यपूर्वका अन्य केही देशहरूको आग्रहमा आफूले हमला रोकेको दाबी गरेका छन्।

‘अमेरिकासँग दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य तागत छ र ऊ इरानविरुद्ध कारबाहीका लागि पूर्ण रूपमा तयार थियो,’ ट्रम्पले लेखेका छन्, ‘तर इरान र अन्य मध्यपूर्वी देशहरूले हमला रोक्न अनुरोध गरे, किनभने सम्झौताको रूपरेखा तय भइसकेको छ।’

के छ प्रस्तावित सम्झौतामा?

अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार, प्रस्तावित सम्झौतामा दुईवटा मुख्य सर्तहरू समावेश छन्:

१. विश्वव्यापी व्यापारको प्रमुख मार्ग मानिने होर्मुज स्ट्रेटलाई तत्काल, पूर्ण रूपमा र विना कुनै बाधा खोल्नुपर्ने।

२. इरानको आणविक खतरालाई सधैँका लागि अन्त्य गर्नुपर्ने।

ट्रम्पले लेखेका छन्, ‘विश्वको भविष्य तथा इरानको स्थायित्व र समृद्धिलाई ध्यानमा राख्दै, छिट्टै सम्झौता गर्ने सर्तमा मैले हमला रद्द गर्ने निर्णय गरेको छु।’

यस निर्णयमा इजरायल पनि अमेरिकासँगै रहेको ट्रम्पले दाबी गरेका छन्। उनले सम्झौतालाई छिटो निष्कर्षमा पुर्‍याउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिँदै लेखेका छन्, ‘सबै जना काममा लाग्नुहोस् र यसलाई पूरा गर्नुहोस्।’

NO COMMENTS