मिली-जुली ख्रीष्टियन संगति ललितपुरको साधारण सभा सम्पन्न
ललितपुर । मिली-जुली ख्रीष्टियन संगति, ललितपुरको साधारण सभा सम्पन्न भएको छ। २०८३ भदौ २५ गते ललितपुरमा आयोजित साधारण सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो।
बिहान १० बजेदेखि नाम दर्तासँगै सुरु भएको कार्यक्रम बिहान ११ बजेदेखि औपचारिक रूपमा सञ्चालन गरिएको थियो। कार्यक्रममा सुरुवाती प्रार्थना, राष्ट्रिय गीत, स्तुति–प्रशंसा तथा आराधना, स्वागत तथा आसन ग्रहण, खादा तथा ब्याच वितरणलगायतका कार्यक्रम सम्पन्न भएका थिए।
सभामा संगतिको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र संगतिको भावी गतिविधिबारे छलफल गरिएको थियो। सहभागीहरूले संगतिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत सुझाव तथा धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पास्टर सुन्दर गुरुङले परमेश्वरको वचनबाट सहभागीहरूलाई उत्साह प्रदान गर्नुभएको थियो। उहाँले ख्रीष्टियन समुदायबीच एकता, आपसी प्रेम, सहकार्य र सेवाको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो। परमेश्वरको वचनअनुसार एक–अर्कालाई सहयोग गर्दै संगतिलाई सकारात्मक र प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै कार्यक्रममा पास्टर नोर्बु लामा, पास्टर पदम , पास्टर बिरु घिसिङलगायतका अतिथिहरूले मन्तव्य राख्नुभएको थियो। उहाँहरूले संगतिको आगामी कार्यलाई थप प्रभावकारी बनाउन एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको थियो।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। तत्कालीन अध्यक्ष पास्टर शाउल गुरुङको समापन मन्तव्यसँगै सभा औपचारिक रूपमा समापन गरिएको थियो।





