भोटेकोशीसहित त्रिशूली नदीको बाढीलाई सामान्य बाढीका रूपमा हेरिनुहुँदैन। यो सामान्य किसिमको प्राकृतिक बाढीपहिरो होइन। यसलाई बहुआयामिक मानवीय सङ्कटका रूपमा विश्लेषण गरिनुपर्छ। नदीमा पानीको बहाव बढेर बाढी मात्र आएको घटना होइन; समग्र नदी प्रणाली (भोटेकोशी–त्रिशूली जलाधार क्षेत्र) उजाडिएको छ। मानवबस्ती, बजार, पूर्वाधार, जीविकोपार्जन सबै एकसाथ क्षणभरमा तहसनहस भएको जटिल र फरक किसिमको विपद् हो। यसलाई तीन किसिमको दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ।
पहिलो, आकस्मिकता, अत्यन्त छोटो समयमा आकस्मिक रूपमा ८/१० मिटरसम्म पानीको सतह बढ्नु सामान्य कुरा होइन। निमेषभरमा मानवबस्ती, बजार, पुल, सडक, जलविद्युत् परियोजनाजस्ता भौतिक संरचना नदीको भेलमा बगेका छन्। यसले समुदायलाई यथेष्ट पूर्वसूचना गर्ने र तयारी गर्ने पर्याप्त समय नै दिएको छैन।
दोस्रो, पहुँचको समस्या । सडक, पुल, सञ्चार, विद्युत् सबै एकैपटक क्षतिग्रस्त हुँदा सबैभन्दा प्रभावित बस्तीहरूमा पुग्न कठिन भयो। यसबाट स्वभावतः उद्धार र राहतलाई निकै जटिल बनायो।
तेस्रो, दीर्घकालीन असर । पूरा गाउँबस्ती, बजार क्षेत्र, पूर्वाधारहरू, खेतीपाती, जीविकोपार्जनका सबै आधार नष्ट भयो। यो केवल तत्कालीन मानवीय सङ्कट मात्र होइन, दीर्घकालीन पुनःस्थापनाको चुनौती हो।
पूरै मानवबस्ती, पूर्वाधार, जीविकोपार्जनका आधार सखाप बनाएर बगाएको अवस्थामा दीर्घकालीन असर पर्ने भयो। यसैले भोटेकोशी विपद्लाई फरक किसिमको विपद्का रूपमा मैले बुझेको छु।
जलवायु जोखिम, भौगोलिक संवेदनशीलता, कमजोर पूर्वाधार र पूर्वतयारीको कमी सबैको मिश्रणबाट सिर्जना भएको ‘संरचनात्मक मानवीय सङ्कट’ का रूपमा मैले भोटेकोशी विपद्लाई विश्लेषण गरेको छु।
भोटेकोशी विपद्मा कसरी मानवीय सहयोग गरिरहनुभएको छ ?
मैले स्वयंसेवकबाट मानवीय सेवा सुरुआत गरेको थिएँ। मेरो जीवनको यात्राका क्रममा मलाई सधैं एउटा कुरा याद आउँछ। त्यो हो- ‘विपद्मा तत्काल उद्धार समुदायबाट’ नै हुन्छ। सबैभन्दा पहिले छरछिमेकी, स्थानीयवासी र समुदायबाट नै उद्धारका काम सुरु हुन्छन्। यसैले विपद्मा उद्धार, राहत र पुनःस्थापनाका केन्द्रमा स्थानीय स्वयंसेवक र रेडक्रसका शाखाहरू नै सक्रिय हुन्छन्। महासचिवको भूमिका त स्वयंसेवकहरूलाई सक्षम बनाउने र हौसला थप्ने हो।
भोटेकोशी विपद्मा मेरो प्रत्यक्ष भूमिका तीन तहमा केन्द्रित रहेको छ।
पहिलो, रणनीतिक नेतृत्व । नेपाल रेडक्रसलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय महासङ्घको सम्पूर्ण सञ्जाललाई भोटेकोशी बाढी प्रतिकार्यमा परिचालन गर्न केन्द्रित छ। साथै अन्य अन्तर्राष्ट्रिय समुदायहरूसँग समन्वय, सहकार्य र आपत्कालीन अपिल, प्राविधिक सहयोग, क्षेत्रीय तथा विज्ञ टोलीको परिचालन र दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना बनाउन नेपाल सरकारलाई सहयोग गर्न केन्द्रित रहनेछ।





