नेपाली काँग्रेसले मोरङ जिल्लालाई आफ्नो परम्परागत विरासत मान्छ । एक्लाएक्लै चुनाव लड्दा काँग्रेसले यहाँ उल्लेख्य सिट जितेको पनि हो । तर, मोरङमा वामपन्थी जनमत पनि काँग्रेसको भन्दा कम छैन ।
जब एमाले र माओवादी मिलेर संघ र प्रदेशको निर्वाचनमा गए, काँग्रेसले नसोचेको परिणाम आयो । त्यसबेला काँग्रेसले ६ वटा संघीय निर्वाचन क्षेत्रमध्ये मुस्किलले एउटामा जित्यो । जबकि माओवादीले दुईवटा क्षेत्र जित्यो । १२ वटा प्रदेशसभा मध्ये काँग्रेसले ४ वटामा मात्र जित हात पार्यो ।
अहिले फेरि कम्युनिस्टहरू विभाजित भएको अवस्था छ । यो बेला सोलोडोलो १७ वटै स्थानीय तह जित्ने दाउ खोज्दै काँग्रेस नेताहरू मोरङमा गठबन्धनप्रति अनुदार बन्दै गएको माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरूको आशङ्का छ ।
के काँग्रेसले सत्ता गठबन्धनमै रहेका अन्य दललाई हेप्न थालेकै हो त ? यसै विषयमा हामीले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा विजयी बनेका माओवादीका केन्द्रीय सदस्य अमनलाल मोदीसँग कुराकानी गरेका छौँ ।
कुराकानीका क्रममा माओवादी नेता मोदीले मोरङमा काँग्रेस र माओवादीबीच आधा–आधा सिटमा भागबण्डा हुनुपर्ने शर्त राखे ।
भर्खरै माओवादीले मोरङमा केन्द्रीय तथा जिल्लाका इञ्चार्ज, सहइन्चार्जहरुको बैठक राखेको सुन्नमा आएको छ । बैठकले के निर्णय गर्यो ?
हाम्रो मोरङ जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी, इञ्चार्ज र सहइञ्चार्जसहितको बैठक अनौपचारिक रूपमा बसेको हो । चुनावी गतिविधि के भइरहेको छ, कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा बैठकमा छलफल भयो । समसामयिक हिसाबले पार्टीको संगठन सुदृढीकरण कसरी भइरहेको छ भन्ने विषयमा पनि छलफल भयो ।
मोरङमा माओवादीलाई काँग्रेसले धेरै हेप्यो भन्ने कतिपय माओवादी नेताहरूबाट प्रतिक्रिया आएको छ । जितेका स्थानीय तहमा प्रमुखको त कुरै छोडौँ, काँग्रेसले माओवादीलाई उपप्रमुख पनि नदिने भन्न थालेको हो ?
यो त काँग्रेसको कुरा होला । तर, अहिले हामी जसरी भए पनि लोकतन्त्र, गणतन्त्रलाई रक्षा गर्न महागठबन्धनका रूपमा गइरहेका छौँ । महागठबन्धनमा कुन पार्टी कहाँ बलियो छ, त्यसका आधारमा त गठबन्धन हुँदैन । गठबन्धनका लागि नै अहिले हामीले अभियान चलाइराखेका छौँ ।
जहाँसम्म मोरङका केही काँग्रेसका साथीहरूको कुरा छ, उहाँहरूमा मोरङमा काँग्रेस बलियो छ, अरू किन चाहियो भन्ने छ । तर, उहाँहरू भ्रममा पर्नुभयो । उहाँहरूका साथीहरू जनप्रतिनिधिका रूपमा काम गरिरहनुभएको छ । जनतामा कति डेलिभरी गर्नुभयो, कति गर्नुभएन त्यसको पनि त जनताले मूल्याङ्कन गरिरहेका छन् । पुरानै आँखाले हेरेर हुँदैन ।
के गठबन्धन नहुने र मोरङमा एक्लै चुनाव लड्ने भने भइयो त ? आफू एक्लै लड्न पनि नसक्ने अनि गठबन्धन गर्न पनि नरुचाउनेखालको जुन कुरा छ, त्यो उहाँहरूको केन्द्रीय लाइन विपरीत पनि छ । तर, सारमा त्यस ढंगले काँग्रेस जाँदैन भन्ने मलाई लाग्छ ।
मोरङमा काँग्रेसले ०७४ सालमा १० वटा पालिका जितेको थियो । एमालेले ५ र माओवादी अनि जसपाले १÷१ वटा स्थानीय त थिए । अब एमालेले जितेका ५ वटा गाउँपालिका बाँडफाँट गरेर लिने हो कि १७ वटै स्थानीय तहमा पुनः बाँडफाँट गर्ने ? गठबन्धनको मोडालिटी के हो ?
मोरङमा १७ वटा स्थानीय तहलाई एउटै बाक्सामा हालेर बाँडफाँट गर्नुपर्छ । काँग्रेसले प्राविधिक रूपमा जिते पनि मज्जाले जितेको अवस्था होइन । कतिपय पालिकामा प्राविधिक रूपमा मेयर जित्दा उपमेयर हार्ने, मेयर हार्दा उपमेयर जित्ने जस्तो भएको छ । त्यही हिसाबले १० वटा पालिकामा जित्नु भएको हो । अहिलेसम्म त्यही भोट पनि रहिरहन्छ भन्ने पनि छैन ।
अहिले एमाले विभाजित भएको छ । यस्तो अवस्थामा माओवादीले पहिलेको अवस्थामा पनि सुधार गरेको छ । माओवादी अहिले पनि तेस्रो शक्ति हो । माओवादी जहाँ गएर मिसिँदा पनि त्यो गठबन्धनले मात्रै परिणाम दिन सक्छ ।
०७४ सालमा जितेको मात्रै कुरा गर्ने हो भने त माओवादी ०६४ सालमा पहिलो पार्टी बनेको होइन ? जनमत एकै ठाउँमा रहिरहन्छ र ? जनता भनेको कसैको पेवा हुँदैन । आफ्नो अपेक्षा पूरा नभएपछि जनता अर्कोतिर बग्ने पनि हुन सक्छ । अहिले माओवादीकै जनमत राम्रो देख्छु । त्यही पनि हामी अहिले एक्लै किन लड्ने ? रिक्स किन लिने ? प्रतिगमनलाई किन सहज बनाउने ? संविधानलाई संस्थागत गर्ने कुरामा किन रिक्स लिनु भनेर एमालेले गरेको कामको विरुद्धमा गठबन्धन गरेका हौँ । हामी एक्लै लड्दा पनि पहिलेको भन्दा धेरै जित्छौँ नि । गठबन्धन भन्ने विषय हाम्रो आवश्यकता मात्रै होइन, काँग्रेसलाई पनि गठबन्धन चाहिएको छ ।





