तराईमा अत्यधिक गर्मी चढेको छ । एकातर्फ चैत–बैशाखको गर्मी छ, अर्कातिर स्थानीय चुनावको सरगर्मी । कोरोनाको महामारीको त्रास सेलाइसकेको छ । काठमाडौंमा जस्तो मानिसहरुले मास्क लगाउन छाडेका छन् । सडकको अवस्था राम्रो नहुँदा धुलोको समस्या विकराल छ । शहरमा मेयर बन्नेहरूको होडबाजी छ तर बाटोघाटोको अवस्था हेर्दा नगरपालिका भन्नै लाज लाग्ने अवस्था छ । बाटोघाटोमा भन्दा भ्युटावर र शालिकहरु ठड्याउने कार्यमा होडबाजी देखिन्छ । तराईको यात्राका क्रममा त्यहाँको अवस्था झल्काउने केही तस्बिरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।
एडीबीले बनाइदिएको चौडा सडक : बाँकेको कोहलपुरबाट नेपालगञ्ज हुँदै भारतको रुपैडिया नाका जोड्ने सडक चौडा एवं आकर्षक देखिन्छ । एशियाली विकास बैंक (एडीबी) को सहायतामा बनेको यो सडकले नेपालगञ्जको आकर्षण बढाएको छ । नेपालगञ्जमात्र होइन तराईका मुख्य शहरहरु घोराही, तुलसीपुर, बुटवल, जनकपुर, विराटनगरमा पनि यही मोडेलमा उत्तर–दक्षिण जोड्ने फराकिला सडकहरू बनेका छन् । पछिल्लो समयमा भएको यो उल्लेखनीय विकास हो ।





