सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेर तयारी तीव्र बनाइसकेको छ । मतपत्र पनि छापिइसकेको छ । आयोगले शुक्रबार (आज) अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सलह जसरी फैलिइरहेको छ ।
यहीबीचमा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठक सकिएलगत्तै रातोपाटीले माओवादी अध्यक्ष प्रचण्डलाई सोध्यो– के बालुवाटार बैठकमा चुनावको मिति सार्नेबारे छलफल भएको हो ?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रातोपाटीसँग भने, ‘सरकार वा गठबन्धन दलहरु कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा छैनन् । चुनाव सर्छ कि भन्ने हल्ला विल्कुल गलत हो ।
कतिपयले विप्लव माओवादीलाई समेत चुनावमा ल्याउनका लागि निर्वाचन कार्यक्रम पछि सार्ने सत्तापक्षबाट तयारी भइरहेको चर्चा गरेका छन् । तर यसबारे चासो राख्दा त्यो सही नभएको माओवादी अध्यक्ष प्रचण्डले बताए । उनले कुनै पनि हालतमा बैशाख ३० को चुनाव यताउता नहुने स्पष्ट पारे ।
त्यस्तै, सत्तारुढ नेपाली काँग्रेसका एक नेताले निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले आत्तिएको र उसले चुनाव सार्न चाहेको आरोप लगाए । विपक्षीबाटै चुनाव सर्ने हल्ला फैलिएको उनले आरोप लगाए । सत्तापक्ष चुनाव सार्ने पक्षमा नरहेको ती काँग्रेस नेताले बताए ।