मैले केही दिन अगाडि सामाजिक सञ्जाल र एक टेलिभिजन कार्यक्रममा सगरमाथा आरोहण गर्न लागेको विषय उल्लेख गरेका थिएँ । त्यतिबेला कसैले मेरो त्यो घोषणाको चर्चा गरेन । हालै जब मैले सगरमाथामा फहराउने झण्डा मन्त्रीबाट प्राप्त गरेँ, त्यसपछि चारैतिरबाट फोन आएर हैरान भएँ । यो देशमा चर्चाका लागि मन्त्री चाहिने रहेछ, त्यो मैले बुझेँ ।

सगरमाथा आरोहणको मेरो तयारी एक वर्ष अघिदेखि कै थियो । गत वर्ष ६११९ मिटर अग्लो लोगोचे आरोहण गरेको थिएँ । त्यसपछि पनि एभरेष्ट बेस क्याम्पमा गएर १०÷१२ दिन बसेँ, वरपर घुमेर फर्किएँ ।​ त्यस अगाडि पनि सानातिना ४ हजारमाथिका हिमाल आरोहण धेरै पटक गरेको छु । लाङटाङको लेरुङ भन्ने दुईवटै हिमाल चढेको छु । सोलुखुम्बुको दुधकुन्ड ४,६४७ मिटर, पिकेपिक भन्ने ४४ सय मिटर लगायत धेरै हिमाल चढेको अनुभव छ मसँग । हिमाल चढ्नका लागि आवश्यक १२÷१३ दिनको ‘बेसिक कोर्स’ भर्खर लिएँ । आफ्नो तरिकाले गर्नुपर्ने तयारी सबै गरिसकेको छु ।
कुनै न कुनै दिन सगरमाथा चढ्नुपर्छ भन्ने सोच ममा पहिलेदेखि नै थियो । गत वर्ष लोगोचे आरोहण गरेपछि हिमालप्रतिको मेरो माया झन् गाढा भएर आयो । अर्काे कुरा, माउन्टेन फिल्डका साथीहरुसँग मेरो संगत रहँदै आएको छ । उनीहरुले सगरमाथा चढ्नुपर्छ भनेर हौस्याए । त्यसले ममा पहिलेदेखिनै रहेको इच्छामा झन् ऊर्जा थपियो । त्यसैले यही चैत २७ गतेबाट आरोहण सुरुवात गर्दैछु ।
यस अगाडि सन् २००३ मा पनि सगरमाथा चढ्ने इच्छा गरेको थिएँ । त्यो समय विविध कारणले गर्न सकिएन । अब चढ्दैछु । भगवानको कृपा रहोस्, सफल भएर फर्किनेछु ।
सगरमाथा आरोहणको पछाडि एक पवित्र कारण छ । त्यो हो जलवायु परिवर्तन, मौसम परिवर्तनले पारिरहेको असरको विषयमा सन्देश दिने । विभिन्न कारणले अहिले मौसममा परिवर्तन भएको छ । त्यसको असर विश्वमा परेको छ । त्यसको असर हाम्रा धेरै हिमालहरूमा समेत परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here