बाराको परवानीपुर गाउँपालिका–५ नौतनकी कुन्तीदेवी साह खरले छाएको घरमा सुतेकी थिइन । खाना खाएर नाती नातिनासँगै मध्याह्न करिब १२ बजेतिर मस्त निद्रामा रहेकी कुन्तीले घरमा आगो लागेको सुइँको पाउन सकेकी थिइनन् । आधा घर जलिसक्दा पनि कुन्तीसहित उनकी ५ वर्षीय नातिनी सृष्टि कुमारी र २ वर्षीय नाती शिवम सुतिरहेकै थिए । छिमेकी शेषमन साहको गोठबाट सुरु भएको आगलागीले एकैछिनमा कुन्तीको आधी घर जलाइसकेको थियो । तर उनीहरुलाई घरमा आगो लागेको कुनै अत्तोपत्तो थिएन ।

कुन्तीका श्रीमान् मोतिलाल साह कानु तथा छोरा बुहारी रोजगारीको सिलसिलामा खाना खाएर बीरगंजतिर गएका थिए । गाउँका अधिकांश पुरुष पनि रोजगारीका लागि बीरगंज लगायतका स्थानमा गएका थिए । काम गर्न नसक्ने तथा कलिला बालबालिका बाहेक छिटफुट रुपमा केही युवामात्र गाउँमा थिए । घर जलिरहेको देखेर छिमेकी समतोला देवी कानुले कराउँदै आगो निभाउन गुहार माग्न थालिन् । उनले कुन्तीको नाम लिँदै ‘घरबाहिर निस्क, तिम्रो घरमा आगो लाग्या छ’ भन्दै कराउन थालेपछि कुन्ती घर बाहिर निस्केकी थिइन् ।
‘घर बाहिर निस्किँदा आधी घर जलिसकेको थियो,’ उनले भनिन्, ‘हतार हतारमा नाती नातिनीलाई पनि स्थानीयवासीको सहयोगमा बाहिर निकाल्न भ्याएँ,’ उनले भनिन्, ‘त्यसपछि दोहो¥याएर घरमा पस्न सकिएन । हेर्दाहेर्दा घरसँगै भित्रको सबै सामान, नगद जलेर खरानी भयो । गाउँलेले तत्कालै दमकललाई फोन गर्दा पनि समयमै आउन नसक्दा अन्नपात, घरमा राखिएको नगद, गरगहना, लताकपडा, भाँडाकुडा, पलङ लगायतका सबै सामान जलेको पीडित कुन्तीले रातोपाटीलाई जानकारी दिइन् ।
जेनतेन गरेर बनाएको घर जलेर खरानी भएको खबरले मोतीलाललाई एक छिन रिंगटा नै लागेको थियो । परिवार चलाउन सकस खेप्दै आएका मोतीलाललाई ओत लाग्ने सहारा खोसिएपछि पीडा थपिएको छ । बढ्दो महँगीको सामना गरिरहेको बेला आगलागीको बज्रपातले थपिएको पीडा सहन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
शेषमन र मोतीलाल दुवै जनाका गरी करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ । घटनाबारे जानकारी पाउने बितिकै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले खानेकुरा, भाँडाकुडा, चामल, दाल, ओत लाग्न प्लाष्टिकको त्रिपाल सहितको राहत सामाग्री पीडित परिवारलाई उपलब्ध गराएका थिए । उनले आगलागीबाट गाउँबस्तीलाई जोगाउन हरहमेसा चनाखो बस्न स्थानीयलाई सुझाव दिए भने पीडित परिवारलाई पुरानो अवस्थामा फर्काउन थप सहयोग गर्ने आश्वासन पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here