बिहिबार नेपाली काँग्रेसका काठमाडौंँ जिल्ला सभापति सबुज बानियाँ काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका सभापति, २० प्रदेशसभा सभापति, काठमाडौंका महानगरसहित ११ नगर सभापति र पार्टीका भ्रातृ संस्थाका काठमाडौं जिल्ला अध्यक्ष सहभागि काठमाडौ जिल्ला कार्यसमितिको बैठकमा छलफलमा व्यस्त थिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आन्तरिक तयारीबारे सो बैठक केन्द्रीत थियो । काठमाडौंका स्थानीय तहमा काँग्रेसका उम्मेदवार छनोट, गठबन्धन दलसँग सहकार्य र यही चैत २६ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको तयारीको बारेमा बैठकमा छलफल गरे ।
चुनावको मिति नजिकिएसँगै बानियाँ जस्तै अन्य दलका नेताहरुको पनि व्यस्तता बढेको छ । बिहिबार नै एमालेका काठमाण्डौं जिल्ला सह-इन्चार्ज कृष्ण राई, नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्की, माओवादी केन्द्र काठमाडौँका जिल्ला इन्चार्ज उमेश स्थापितपनि पार्टीको कार्यक्रममा व्यस्त थिए ।
हालसम्म गठबन्धन दल बनाउने वा एक्लै चुनाव लड्नेबारे निश्चय गरी नसकेको एमाले र काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आ–आफ्नो रणनीति अनुसार चुनावी गतिविधिलाई तीब्र पारेका छन् ।
काँग्रेसले आन्तरिक रुपमा उम्मेदवार तयार पार्ने, गठबन्धनपछि आवश्यक ठाउँमा छोड्ने
काठमाडौंमा महानगरका लागि प्रमुख उपप्रमुखबाहेक अन्य पालिकाका उम्मेदवारहरू आन्तरिक तयार पार्ने काँग्रेसको रणनीति रहेको छ । काँग्रेस काठमाडौं सभापति बानियाँले गठबन्धनको रुपमा चुनावमा जाने संभावना भएकोले काठमाडौंँमा स्थानीय तहमा संभावित उम्मेदवार तयार गर्दा बाहिर सार्वजनिक नहुनेगरी आन्तरिक रुपमा गर्ने र पछि आवश्यक परेको स्थानमा उम्मेदवारी छोड्ने गरी अघि बढेको रातोपाटीलाई बताए