नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको भोलि (जेष्ठ २७) ६ महिना हुँदैछ । गत मंसिर २७ मा १४ औं महाधिवेशन गरेको काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन ।
काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थान छ । तर काँग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ ।
१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्ने बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १४७ जना सदस्य मात्र छन् । सभापति २१ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । यस्तै काँग्रेसको कार्यसम्पादन समिति पनि अपुरो छ । पार्टी विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३७ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्ड पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र छन् । बाँकी सदस्य मनोनित गर्न सभापति शेरबहादुर देउवाले नसकेको अवस्था छ ।





