दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । बिहीबार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् ।
कुमार घैंटेको इन्काउन्टरपछि रात्रि क्लवहरुमा गुण्डागर्दीमा संलग्न समूहको ग्याङ वार बन्द भएको थियो । तर, पछिल्लो समय काठमाडौंमा गुण्डागर्दी मौलाएको सुरक्षा अधिकारीहरु बताउँछन् । आक्रमण गर्नेहरु बिरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् । आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको छ ।
प्लाटिनम डिस्को काभ्रे घर भएका सञ्जय लामा र मिलन कार्कीले सञ्चालन गरेका हुन् ।





