सभामुख अग्निप्रसाद सापकोटाले जनताले खोज्ने परिवर्तनको संकेत बुझ्न आवश्यक रहेको बताएका छन् । संघीय मामिला पत्रकार समाजले तयार गरेको ‘संसदीय समिति अभ्यास पहिलो संसददेखि संघीय संसदसम्म’ पुस्तकको आईतबार विमोचन गर्दै सभामुख सापकोटाले बेला बेला आफुले खोजेको परिवर्तन जनताले संकेत गर्ने भन्दै त्यसलाई बुझेर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले भने, ‘अहिले दुनियाँमा विचार र दर्शनको बारेमा छलफल भएको छैन । विश्व अहिले व्यापारमा केन्द्रीत भएको छ । विचार र दर्शनलाई अगाडि बढाउन आवश्यक रहेको छ । लोकतान्त्रिक व्यवस्था बलियो बनाउन पत्रकारहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । लोकतन्त्र कमजोर पार्दा सभामुख आफै न्याय खोज्न अदालत जानुपर्ने अवस्था समेत आयो । हामीले राम्रोसँग संविधानको अभ्यास नै गर्न पाएका छैन । सभामुखले पनि आफ्नो क्षमताको परख गर्न पाएको छैन ।’
उनले एउटा बिन्दुमा पुगेपछि जुनसुकै विवाद पनि सहमतिमा पुग्ने गरेको उल्लेख गरे । सभामुख सापकोटाले बीउ बिउजन विधेयक पास भएको उल्लेख गर्दै नागरिकता विधेयक पास नहुँदा धेरै नागरिकता पाउन नसकेका धेरै युवाहरूले आफुलाई भेटेर पीडा पोखेको बताए । उनले यही कार्यकालमा सो विधेयक पास गर्नका लागि प्रधानमन्त्रीदेखि विभिन्न पक्षसँग छलफल अघि बढाएको पनि जानकारी गराए ।
अलि मिहिनेत गर्ने हो भने ८ वटा प्रतिस्थापन विधेयक पनि पास गर्न सकिने उनको भनाई थियो । उनले भने, ‘कानुन निर्माण गर्ने हाम्रो दायित्व मात्रै हैन गुणस्तरीय कानुन बनाउने दायित्व हो । कानुनको नौ सिङ भनेझैं अहिले कानुनको दुरुपयोग भईरहेको छ । त्यस्तो नहुने गरि कानुन बनाउनुपर्नेछ ।’
उनले सुशासन र भष्टाचार नियन्त्रणका लागि आफु र आफ्नो सचिवालय प्रतिबद्ध भएर लागेको बताए । विमोचित पुस्तक संसदीय समिति अभ्यास पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक निकै प्रभावकारी रहेको बताए । उनले भने, ‘हामीले आर्जन गरेका ज्ञानको अभिलेखन गर्न मिहिनेत गर्नुपर्ने अवस्था छ । दीर्घकालीन रूपमा काम लाग्नसक्छ । संसदीय अभ्यास बारेको ज्ञानका लागि यो पुस्तक कोशेढुङ्गा हुने विश्वास लिएको छु ।’





