स्थानीय निर्वाचनमा काँग्रेसको नेतृत्वमा गठबन्धन गरेर चुनावमा गएका ५ दलमध्येका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनमा हालको गठबन्धनबाहेकको विकल्प पनि सोच्न थालेका छन् । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा हालको सत्ता गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा यी दलमा विवाद नभए पनि दुवै दलले विकल्प पनि सोच्न थालेका हुन् । दुवै दल दुई ‘स’ अर्थात ‘शरण र सती’ को विपक्षमा उभिँदै आफ्नो रणनीति बनाउन व्यस्त छन् ।

माओवादीले गठबन्धनका नाममा काँग्रेसको ‘सती’ नजाने बताएको छ भने नेकपा एकीकृत समाजवादीले गठबन्धनको ‘शरण’मा भर नपर्ने जनाएको छ । दुवै दलले अघि सारेको यो नीतिले काँग्रेसमाथि दबाब बढ्ने उनीहरूको बुझाई छ । दुई ‘स’ बहिस्कार गर्ने दुई दलको नीति व्यवहारमै कार्यान्वयन भए काँग्रेस सोच्न बाध्य हुनेछ । यदि नसोचे गठबन्धनको आगामी सहकार्य र भविष्यमाथि नै प्रश्न उठ्ने नेताहरूको भनाई छ ।
सत्ता गठबन्धनमा हाल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरका पालिकामध्ये झण्डै ३० प्रतिशतमा मात्र गठबन्धन गरेका पाँच दलले नेतृत्वकर्ता दलले इमानदारिता नदेखाएको तथा सबैभन्दा बढी फाइदा काँग्रेस आफैले मात्र लिएको माओवादी र समाजवादीको बुझाई छ ।
आगामी निर्वाचनमा पनि यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि काँग्रेसको भूमिकाबाट आगामी यात्रा र सहकार्यको मोडालिटी निर्धारण हुने माओवादी र एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । स्थानीय निर्वाचनमा काँग्रेसले आफूलाई बढी फाइदा हुने र गठबन्धनका अन्य दललाई घाटा हुने गरी चलाखी गरेको भन्दै काँग्रेस नसच्चिए विकल्प खोज्न बाध्य हुने उनीहरूको चेतावनी छ ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले केही दिनअघि रातोपाटीसँगको अन्तरवार्तामा गठबन्धनका नाममा काँग्रेससँग ‘सती’ जान नसकिने टिप्पणी गरेका थिए । साथै उनले आफूहरू राजनीतिक र कानुनी रूपमा जो कसैसँग पनि छलफल गर्न खुला रहेको भन्दै एमाले सच्चिए चुनावसम्म फरक गठबन्धन बन्ने सक्ने सङ्केत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here