यतिखेर सरकारलाई असारे विकासको चटारो छ । खेतीपातीको मौसम यता कृषकहरूलाई धान बाली लगाउने चटारो परिरहेका बेला उता सरकारलाई भने असारे विकास र बजेट सक्ने चटारो परेको हो । जुन असार लागेसँगै सरकारले गरिरहेको धमाधमको विकास निर्माण र सोको भुक्तानीले देखाएको छ ।
महालेखा नियन्त्रणको कार्यालयका अनुसार असार १५ गते चालुतर्फ ९ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ९९ करोड ३ लाख रुपैयाँ भुक्तानी भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत खर्चतर्फ कुल ३ खर्ब ७८ करोड ९ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मध्ये असार १५ सम्म जम्मा ३९.७८ प्रतिशत मात्र खर्च हुन सकेको हो ।
बजेट कार्यान्वयनका लागि साउनदेखि चैत–वैशाखसम्म मौन रहने तर जेठ, असार लागेपछि भने धमाधम विकास निर्माणमा जुट्ने र अन्तिम अन्तिममा आएर ठूलो भुक्तानी गर्नुले भने उहीँ पुरानो असारे विकासको निरन्तरता देखिन्छ ।





