मकवानपुर ।
सरकारले आगामी मङ्सिर ४ गते मतदान हुने गरी प्रतिनिधि र प्रदेशसभाको चुनावको मिति घोषणा गरिसकेको छ । चुनावको मिति घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् । चुनावको मिति नजिकिएसँगै मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भएको छ ।
दल र दलमा आबद्ध नेताहरूले आ–आफ्नो तयारी अनुसार चुनावी क्षेत्रमा माग दाबी तथा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैबीच मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी आमनिर्वाचन रोचक हुने देखिन्छ ।
एकातर्फ नेकपा एमाले र अर्कोतर्फ ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारबीच भिडन्त हुने आकलन गरिरहँदा सो क्षेत्रमा राप्रपा र राप्रपा नेपाल पनि मैदानमा उत्रिने तयारीमा छन् । मकवानपुर–१ मा एमालेबाट कृष्णप्रसाद दाहाल, मदन दाहाल र रघुनाथ खुलालको चर्चा छ भने काँग्रेसबाट इन्द्रबहादुर बानियाँ दाबेदार रहेको बताइएको छ ।





