सिंहदरबारका नायव सुब्बाहरूले सोमबारदेखि पेन डाउन सुरु गरेका छन् । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेपनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए । सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै सोमबारदेखि आन्दोलन सुरु गरेको पोखरेलले बताए ।
‘बजेटमा जुन तलब बृद्धि भएको छ त्यो कार्यन्वयन हुँदैन । उच्चस्तरीय तलबमान आयोग गठन गरेर ट्रेड युनियनलाई समेत राखेर रिपोर्ट बनाएर अघि बढ्नुपर्छ’ पोखरेलले भने, ‘सुब्बा र अधिकृतको तलब अन्तर १५ हजार बनाएको छ । यसलाई तलब प्रणालीमा नलगेर सुखै छैन ।’ उनीहरुले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने माग राखेका छन् । राज्य सञ्चालनमा आफूहरूको महत्वपूर्ण योगदान रहेको नायब सुब्बाहरूको भनाई छ ।





