काठमाडौं।

रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्।

एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ। उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको संख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ।

यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट तीन हजार एक सय ३० र दोस्रो चरणको परीक्षाबाट तीन हजार सात सय ८३ गरी कुल छ हजार नौ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो।

उत्पादनतर्फको परीक्षामा उत्तीर्णको संख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट छ हजार सात सय ५२ र दोस्रो चरणबाट आठ हजार एक सय ६१ गरी कुल १४ हजार नौ सय १३ जना उत्तीर्ण हुनेछन्। यसपटक उत्पादनतर्फ ३३ हजार नौ सय र कृषितर्फ नौ हजारले फाराम भरेका थिए।

उत्पादनतर्फको पहिलो चरणको परीक्षा गत साउन २ देखि सुरू भएको थियो। दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ। पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने इपिएस कोरिया शाखाले जनाएको छ।

शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षामा उत्तीर्ण हुनेको संख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको संख्या पनि वृद्धि हुने बताए।

‘यो नेपाली युवाका लागि अवसर हो’ उनले भने,‘कोरिया सरकारले नेपालीलाई रुचाएको देखिएको छ।’

सन् २००८ देखि इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन्। इपिएसबाट ७३ हजार नेपाली कोरिया पुगिसकेका छन्। उनीहरूले चार वर्ष १० महिना कोरियामा काम गर्न पाउँछन्। हाल कोरियामा ३३ हजार इपिएस श्रमिक छन्।

दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ। इपिएसबाट श्रमिक लैजाने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ। सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here