काठमाडौं।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन्। यसअघि हर्कले आफूले प्रचण्डलाई श्रमदान गर्न धरान बोलाएको बताएका थिए। आज मात्र प्रचण्डले धरानमा पुगेर श्रमदान गरेका हुन्।
यसबीचमा प्रचण्डले सिंगै देशले मेयर हर्कबाट प्रेरणा लिनुपर्ने बताएका छन्। उनले माओवादी र कम्युनिस्टले गर्नुपर्ने काम हर्कले गरिरहेको पनि उल्लेख गरे।
‘सिंगो नेपालले उहाँको कामलाई बडो गम्भीरतापूर्ण तरिकाले हेरेको छ। हामी कम्युनिस्टहरुले र खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनु भएको छ। म पार्टीका साथीहरु र देशका श्रमजीवि जनतालाई पनि हर्कको व्यवहारबाट उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु’ प्रचण्डले भनेका छन्।
निरन्तर जनताको सेवामा लागिरहन र डटिरहन प्रचण्डले हर्कलाई सुझाव पनि दिएका छन्। उनी भन्छन्,‘जनतासँग जोडिरहनुस् र जनताको साथ पाइनराख्नुहोस् भन्ने शुभकामना छ। हाम्रो साथीहरुको पनि साथ तपाइँलाई छ। उपमेयर हाम्रै पार्टीबाट नै हुनुहुन्छ। उहाँहरुको जोडी असाध्यै मिलेको देखिएको छ। अनुहार पनि मिलेको छ। काम पनि मिलेको छ। यो धरानको लागि बडो ठूलो अवसर हो।’






