सुदूरबाट पलाएको आशा ः मिसन पत्रकारिता
 काड्माण्डौ, १८ भदौ सुदूरपश्चिम प्रदेशमा हालै तीन दिने प्रदेशस्तरिय आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । प्रदेशका नौवटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी २३ जना युवाहरुलाई पत्रकारीता तालिम दिइएको हो । राष्ट्रिय ख्रीष्टियन महासंघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा चर्चभित्रका युवालाई पत्रकारिताका माध्यमबाट मिसन पत्रकारितामा सक्रिय बनाउने उद्देश्यले उक्त तालिम दिईएको राष्ट्रिय ख्रीष्टियन महासंघ सुदूरपश्चिम प्रदेश प्रमुख रेभ.डा. नरिराम लुहार बिनोदले जनाए । के हो मिसन पत्रकारिता ? मानव जीवनमा निकै नै महत्व राख्ने क्षेत्र हो आमसञ्चार । दैनिक घट्ने घटना तथा समाचार छिटो–छरितो आम श्रोता, दर्शक र पाठक समक्ष पुर्याउने सवालमा होस या आवाज विहिनहरुको आवाज बोलि सुशासन, सामाजिक न्याय र मानवअधिकारको पक्षमा उभिने सवालमा आमसञ्चार र पत्रकारीताको निकै नै महत्व छ ।
राज्यको चौथो अंगका रुपमा ख्याती कमाउन सफल यो क्षेत्रले समाजमा रहेका अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गको पक्षमा रहि निरन्तर वकालत गरिरहेको छ । पत्रकारीताको सुन्दर पक्ष भनेको प्रेस स्वतन्त्रता हो । कुनैपनि घटनाको सत्यतथ्य छानविन गरि बिना रोकटोक सन्तुलित समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हो । यो संगै जोडिएर आउने सवाल हो मिसन तथा पैरवी पत्रकारीता । कुनैपनि निश्चीत मिसन, भिजन र गोलका आधारमा निरन्तर त्यसको पक्षमा पैरवी गर्नु मिसन पत्रकारीता हो । एकपक्षले मिसन पत्रकारीतालाई गलत ठहर्याउने गर्दछन् । तर अर्काे पक्षले निर्धारित विषयमा नीतिगत स्तरमा प्रभाव पार्नेगरी बारम्बार कलम चलाईरहनु पनि पैरवी पत्रकारीता भएकोले पत्रकारिताको आफ्नो छुट्टै मिनस हुनु नितान्त आवश्यक विषय पनि हो ।
पत्रकारिताको माध्यमबाट पाठक, दर्शक, स्रोताले अमुक समाचार वा बिचार पढेर, सुनेर वा हेरेर ठोस प्रकृतिको अवधारणा बनाउनु एजेण्डा सेटिङ हो जो मिसन पत्रकारिताको उद्देश्य पनि हो । ख्रीष्टियन जगतमा मिसन पत्रकारिताको आवश्यकता किन ? ख्रीष्टियन समुदाय नेपालका लागि अल्पसंख्यक धार्मिक समुदाय हो । बहुसंख्यक धार्मिक समुदायले ख्रीष्टियन समुदायमाथि लामोसमयदेखि थिचोमिचो र हस्तक्षप गरेको भनेर आरोप लाग्दै आएको छ । ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानमाथि राज्यले नै अन्याय गरेको भनि बेलाबखत आवाज नउठेको पनि होइन । विशेषगरी ख्रीष्टियनहरुको चाडपर्वमा विदा नदिने, चर्चलाई स्वतन्त्र गुठी घोषित गर्ने नमान्ने, मृत्यु सत्कारका लागि चिहानको उचित व्यवस्था नगरिदिने लगायत स्वतन्त्रतापुर्वक आफ्नो आस्थाको अभ्यास गर्न नपाउने जस्ता राज्यप्रति ख्रीष्टियन समुदायको धेरै गुनासो रहिआएको छ । यस अवस्थामा ख्रीष्टियन समुदायको अधिकारका पक्षमा आवाज उठाउने राष्ट्रिय ख्रीष्टियन महासंघले विभिन्न समयमा राज्यसँग ३ बुँदे र ६ बुँदे सहमति पनि गरेको छ । जसमा ख्रीष्टियन समुदायका आधारभूत मागहरु राज्यले सम्बोधन गर्ने भनेर सहमति गरेका छन । तर लामो समय हुँदा पनि ति सहमति कार्यान्वयन हुन सकेको छैन । यस परिवेक्षमा ख्रीष्टियन समुदायको मुद्दा राज्य समक्ष पुर्याउन र निरन्तर पैरवी गर्न अति नै आवश्यक देखिन्छ । त्यसका लागि आमसञ्चार तथा पत्रकारिताको माध्यमबाट पनि राज्यसमक्ष पैरवी गर्न सकिन्छ । पत्रकारिताको माध्यमबाट ख्रीष्टियन समुदायको मुद्दा, राज्यसंग भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन गराउने सवाललाई आफ्नो मिसन, भिजन र गोल बनाई निरन्तर पैरवी गर्न मिसन पत्रकारिता औचित्य देखिन्छ । ख्रीष्टियन मिसन पत्रकारिताले के गर्छ ? तालिम प्राप्त दक्ष पत्रकारले आफ्नो समुदायका मुद्दालाई उठान गर्दै स्थानिय सरकारदेखि प्रदेश र केन्द्रिय सरकारसमक्ष पैरवी गर्ने काम गर्छ । आम ख्रीष्टियन समुदायका मर्म र समस्यालाई राज्यका विभिन्न निकाय समक्ष पुर्याउने र ति समास्या समाधानका लागि वकालत गर्ने काम गर्छ ।
चर्च तथा मण्डलीलाई समुदायले हेर्ने गलत दृष्टि परिवर्तनका लागि सृजनात्मक ढंगले आवाज उठाउँछ । स्थानिय सरकार र मण्डली बिच सुमधुर सम्बन्ध कायम गर्न मध्यस्थकर्ताको भुमिका निर्वाह गर्न सक्छ । यति मात्र होईन, स्थानियस्तरदेखि मण्डलीलाई संविधानले नागरिकलाई प्रदान गरेको हक अधिकार र मानवअधिकारका सवाललाई राम्ररी बुझाई आफ्नो संवैधानिक अधिकार सुनिश्चित गर्न समेत सुसूचित गर्ने काम गर्छ । यी विविध पक्षलाई हेर्ने हो भने ख्रीष्टियन मिसन पत्रकारिता आजको आवश्यकता हो । यसलाई पूर्णता दिन राष्ट्रिय ख्रीष्टियन महासंघले खेलेको भुमिका निकै नै उल्लेखनिय छ । सुदूरपश्चिम प्रदेशमा मात्र होईन हरेक प्रदेश र देशैभर मिसन पत्रकार आवश्यक छ । यसतर्फ सम्बन्धित ख्रीष्टियन संघसंस्था तथा ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानका पक्षमा वैरवी गर्ने सबैको ध्यान जानु आवश्यक छ ।  गोविन्द विश्वकर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here