सिट बाँडफाँट गर्न बनेको सत्ता गठबन्धनको कार्यदलले बुधबार बस्ने बैठकपछि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । सकेसम्म अधिकतम सहमति जुटाएर प्रतिवेदन बुझाउने कार्यदल सदस्यहरु बताउँछन् । तर, प्रतिवेदन बुझाउने अन्तिम घडीमा समेत कुन दलले कति सिट लिने र कसरी भागबण्डा मिलाउने भन्नेमा कार्यदलकै सदस्यहरु स्पस्ट हुन सकेका छैनन् । यही अस्पस्टताका कारण कार्यदलको छलफलमा जनमोर्चा बाहेकका कार्यदल सदस्यहरुले आफ्नो बटमलाइनबारे मुख खोलिनसकेको उनीहरुकै भनाइ छ ।

कार्यदलमा स्थानीय निर्वाचनको मत परिणाम र २०७४ को चुनावमा दलहरुले जितेको स्थानलाई आधार बनाएर भागबण्डा मिलाउने भनिए पनि ती आधारमात्रै पर्याप्त नहुने भएपछि कार्यदलमा ठोस सहमति जुट्ने सम्भावना कम रहेको बताइन्छ । कार्यदलस्तरमा सहमति नजुटे सामान्य खाकामात्रै बनाएर निर्णय गर्ने जिम्मेवारी गठबन्धनका शीर्ष नेताहरुलाई सुम्पने मनोविज्ञानमा कार्यदल सदस्यहरु पुगिसकेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका सिटमा सहमति जुटाउन साउन २० गते सत्ता गठबन्धनको शीर्ष नेतृत्वले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदल बनेदेखि एक महिनाको अवधिमा बसेका बैठकहरुमा दलका नेताहरुले अहिलेसम्म आफ्नो स्पस्ट ‘बटमलाइन’ नै पेस नगरेकाले घनिभूत छलफल हुन नसकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here