काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू निर्दोष रहेको र नेपाल फर्किएर सबै आधारहिन आरोपको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘म निर्दोष छु र नेपालको कानुनमाथि पुर्ण विश्वास राख्छु ।’ हाल क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका सन्दीपले सिपीएलबाट बिदा लिएको र चाँडै नेपाल फर्किएर सबै आरोपको सामना गर्न तयार रहेको पनि बताएका छन् । उनले आफूमाथि लागेका आरोपहरु निराधार भएको भन्दै कानुन सबैका लागि समान हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

‘मैले सिपिएलबाट बिदा लिने निर्णय गरेको छु र केहि दिनभित्र देश फर्किएर सबै आधारहिन आरोपको सामना गर्न तयार छु ।’उनले लेखेका छन् । यस्तै बलात्कारको मामिलामा नेपाल क्रिकेट सङ्घ (क्यान) सँग पनि सहयोग मागेका छन् ।

एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा सन्दीपमाथि उजुरी परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको दायरा बढाउँदै सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत लिइसकेको छ। क्यानले भने प्रहरी अनुसन्धानमा सहयोग गर्न भन्दै सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको छ । पक्राउ पुर्जी लिइसकेको प्रहरीले सन्दीपलाई अब विमानस्थलबाटै नियन्त्रणमा लिनसक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here