काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
उनले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गरेका छन् ।
उनले यस पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गरेका छन् ।





