मुगुको रारा, डोल्पाको से फोक्सण्डो, दैलेखको ज्वाला र गडी, सल्यानको कपुण्डे ताल, सुर्खेतको देउती बज्यै मन्दिर, काक्रेविहार र बुलबुले ताललगायत कर्णालीका घुम्नलायक प्रमुख क्षेत्र हुन् ।

यीबाहेक कर्णालीमा प्रचारमा नआएका पर्यटक लोभ्याउने क्षेत्र धेरै छन् । यी पर्यटकीयस्थलबाट प्रदेशले राम्रो आम्दानी लिन सक्ने प्रसस्त सम्भावना छ । यहाँको रमणीय वातावरणले पर्यटकलाई लोभ्याउन सक्छ तर यस्तो पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुँदाहुँदै पनि प्रदेशले भनेअनुसारको फाईदा लिन सकिरहेको छैन । कारण हो, पूर्वाधार विकासको अभाव र प्रचारप्रसारको कमी ।

कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट गत आर्थिक वर्षमा जम्मा रु ४८ लाख मात्रै राजस्व सङ्कलन भएको छ । यद्यपि कोरोना भाइरसको प्रकोपले पनि पर्यटन आवागमन कमजोर बनायो । तर प्रमुख कारण भनेकै सडक स्तरोन्नति, पर्यटकीयस्थलको प्रचारप्रसार र गतिलो बस्ने बासको व्यवस्थापन नहुनुले पर्यटकीय क्षेत्रबाट भनेअनुसारको आम्दानी लिन नसकिएको हो ।

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । प्रदेश योजना आयोगले पनि प्रथम पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रबाट आर्थिक आम्दानी मनग्य लिन सकिने र त्यसबाटै पर्याप्त रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । रमणीय पर्यटकीय क्षेत्रमा समेत भने जति पर्यटक भित्र्याउन सरकारले सकेको छैन ।

प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार कर्णालीमा गत आर्थिक वर्षमा एक सय ८४ मात्रै बाह्य पर्यटकले यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन् । सरकारले पाँच ‘प’ पहुँच, प्रवद्र्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना बनाएको छ । तरपनि भनेअनुसारको पर्यटक आकर्षण गर्न नसकेको सरोकारवाला बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here