गुर्भाकोट नगरपालिका–१० की मनिसरा नेपाली गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलित महिला वडा सदस्यको उम्मेदवार थिइन । उनलाई कांग्रेसले सदस्यमा उम्मेदवार बनाएको थियो । निर्वाचनमा मनिसरा ४० मतान्तरले पराजित भइन् ।

उनले चुनावमा गरेको खर्चको विवरण समयमै नबुझाएको भन्दै अहिले निर्वाचन आयोगले दुई लाख रूपैयाँ जरिवाना तोकेको छ । तर, उनलाई न चुनावमा गरेको खर्चको हिसाब बुझाउनुपर्छ भन्ने जानकारी थियो न त आयोगले तोकेको जरिवाना बारे नै जानकार छिन् । उनले भनिन्, ‘हो र मलाई त केही थाहा छैन । उम्मेदवार बन्दा केही विवरण भरेर बुझाएको त हो । चुनाव खर्च र जरिवाना तोकेको बारे बल्ल सुनेँ ।’

उनको आयोगले तोकेको जरिवाना तिर्न सक्ने आर्थिक अवस्था पनि छैन । उनी भन्छिन्, ‘ठूला नेताले चुनावमा उठ भने उठियो, यसको प्रक्रिया के छ मलाई थाहै भएन ।’ विपन्न परिवारकी उनलाई बिहानबेलुका हातमुख जोड्नै धौ धौ छ । यति ठूलो रकम तिर्न सक्ने अवस्था भएको उनी बताउँछिन् ।

जुम्लाको चन्दननाथ नगरपालिका–१० की जर्मा कामी पनि स्थानीय निर्वाचनमा दलित महिला सदस्यको रुपमा उम्मेदवार बनेकी थिइन । जर्मालाई माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो । प्रतिस्पर्धीको भन्दा ३० मत कम हुँदा उनले पराजय भोग्नु प¥यो । गाउँमा दलित समुदायमा अगुवाको भूमिकामा देखिने उनलाई पार्टीले खोजी–खोजी उम्मेदवार बनायो । उम्मेदवार बनेपछि के गर्नु पर्छ भन्ने थाहा थिएन । आफ्नो इच्छाभन्दा पनि नेताहरूले कर गरेपछि जर्मा उम्मेदवार बनिन् । माथिल्लो तहका नेताको जोडबलले वडा सदस्य उठेकी उनले पनि चुनावको खर्च विवरण बुझाइनन् । ‘मलाई थाहै भएन, अहिले कारबाहीमा परिन्छ र यति धेरै जरिवाना तिर्नुपर्छ भन्ने थाहा भइदिए उहिल्यै विवरण पेस गर्थेँ,’ जर्माले भनिन् ।

पार्टीका माथिल्लो कमिटीका नेताले यसबारे जानकारी नै नदिएको उनको गुनासो छ । आफू जरिवानामा परेको समेत जानकारी नभएको उनी बताउँछिन् । निर्वाचन आयोगले तोकेको जरिवाना रकम सुन्दा जर्मा चकित भइन् । ‘मैले त्यति धेरै पैसा कहाँबाट बुझाउनु ? हामी सोझा साझालाई चुनावमा उठाउने नेतालाई तिराउनुपर्छ ।’ आयोगले तोकेको जरिवाना घरबारी बेचेर पनि तिर्न नसक्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here