अमेरिकी मिडियाका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरिएको छ । भारतीय मूलका पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। अमेरिकाको न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो ।

अग्रवालसहित प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेटलाई मस्कले बर्खास्त गरेको वाशिंगटन पोस्टका टेक रिपोर्टर फैज सिद्दिकीले ट्वीट गरेका छन्। रिपोर्टका अनुसार सोसल मिडिया कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता पुरा गर्दै एलन मस्कले अब ट्विटरलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
विजया गड्डे पनि भारतीय मूलकी हुन् र ट्विटरमा कानुनी, नीति र ट्रस्टकी प्रमुख थिइन्। यससँगै केही महिनादेखि ट्विटरको भविष्यबारे रहेको अनिश्चितता समाप्त भएको छ ।
बिहीबार एक ट्वीटमा एलन मस्कले मानवतालाई मद्दत गर्नका लागि आफूले ट्विटर किनेको बताएका थिए । मानव सभ्यताको भविष्यका लागि यस्तो प्लेटफर्म आवश्यक रहेकाे जहाँ हिंसा बिना स्वस्थ तरिकाले विभिन्न विचारहरू उठाउन सकिने उनको भनाई थियो । उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here