स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क देखिएका छन।

सत्ता गठबन्धनका तर्फबाट प्रत्याशी कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका सभापति एवं पूर्वमन्त्री बलायर गएको स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका प्रत्याशीले पाएको मतले विजयी हुनेमा ढुक्क देखिएका हुन।

बलायरले पार्टी सङ्गठनको मतसँगै सत्ता गठबन्धनको मतले आफूलाई विजयी हुन सजिलो रहेको दाबी गरे। उनलाई नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले टक्कर दिएका छन।

उनले यस क्षेत्रबाट आफूले तेस्रो पटक चुनाव जित्ने दाबी गर्छन्।

भट्ट यसअघि विसं २०६४ मा संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए।

कांग्रेस नेता बलायर विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोटी जिल्लाबाट तत्कालीन वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका प्रत्याशी प्रेम आलेमगरसँग झन्डै एक हजार छसय मतान्तरले पराजित भएका थिए।

यसपालिको निर्वाचनमा पनि डोटीबाट आकाङ्क्षी बलायरलाई कैलाली–४ बाट टिकट दिइएपछि यो क्षेत्रबाट आकाङ्क्षी कांग्रेसका कतिपय नेता असन्तुष्ट छन्। तर बलायर कोही नेता कार्यकर्ता असन्तुष्ट नरहेको दाबी गर्छन्।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रभावशाली नेता सुनिलकुमार भण्डारी, डा लक्ष्मीराज पाठक, टेकराज जोशी, प्रकाशबहादुर बम लगायतका नेता यो क्षेत्रबाट टिकटका आकाङ्क्षी रहेका थिए।

बलायरलाई कैलाली–४ बाट टिकट दिइएपछि यसको असन्तुष्टिको फाइदा लिने दाउमा एमालेका प्रत्याशी भट्ट रहनुभएको भए पनि त्यो गठबन्धनका कार्यकर्ता आफ्नै उमेदरवारका पक्षमा रहेका देखिएको छ।

सुदूरपश्चिम प्रदेशमा विगतमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेर प्रदेशको इन्चार्जसमेत जिम्मेवारी निर्वाह गरेका भट्ट डेढ वर्षअघि माओवादी त्यागेर एमालेमा प्रवेश गरेका थिए। यो क्षेत्रमा दुई ‘हेभिवेट’ नेताबीचको प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here