अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो ।
मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।
त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले आठ हजार ८१ मत ल्याउनुभएको छ ।
त्यसैगरी, रुकुम पश्चिम प्रदेशसभा ९२० मा माओवादी केन्द्रकै्र उम्मेदवार राजकुमार शर्माले २० हजार एक सय ६० मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले आठ हजार ८८ मत प्राप्त गर्नुभएको छ।





