काठमाडौं ।
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण आगामी असार ७ देखि १० गतेसम्म हुने भएको छ ।
गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले अमेरिकाको मेरिल्याण्डमा फेस्टिभल गर्दैछ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैटौं महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको छ ।
वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत फिल्म प्रदर्शन हुनेछन् । स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हँुदै आएका फिल्म यो वर्ष पनि समावेश हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट फिल्मलाई प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन् ।
फिल्म प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने समेत आयोजकले जानकारी दिएका छन् ।





