काठमाडौं ।

अर्थ मन्त्रालयले कार्यालयमा बोतलको पानी निरुत्साहित गर्ने भएको छ । चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि खर्च घटाउने सम्बन्धी मापदण्ड बनाउँदै अर्थले यस्तो नीति ल्याएको हो ।

चालु आर्थिक वर्षको बजेटमा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने उल्लेख छ । सोही बुँदालाई कार्यान्वयन गर्ने क्रममा अर्थले मापदण्ड बनाएको बताएको छ ।

मन्त्रालयका अनुसार अब बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे बापत दिइँदै आएको सुविधा कर्मचारीले पाउने छैनन् । तर, दिनै पर्ने अवस्था आएमा ५० प्रतिशत मात्र दिने निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।

अत्यावश्यक बाहेकका भ्रमण निरुत्साहित

मन्त्रालयका अनुसार अत्यावश्यक बाहेकका भ्रमणलाई निरुत्साहित गर्ने नीति समेत अर्थले लिने भएको छ । अति आवश्यकदेखि बाहेक थोरै र पटके रुपमा प्रयोग हुने सामानको स्टक नराख्ने निर्णय समेत अर्थले गरेको छ । मन्त्रालयले दुई पाङग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्विसिङका बेला आवश्यक पर्दा मात्र मोबिल तथा लुब्रिकेन्ट फेर्ने समेत निर्णय गरेको छ ।

मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तक कम गरी वेबसाइटलाई प्राथमिकता दिने समेत नीति लिने भएको छ । अति आवश्यक बाहेकका सेमिनार तालिम गोष्ठी नगर्ने समेत निर्णय अर्थ मन्त्रालयले गरेको छ । गर्नै पर्ने कार्यक्रम मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनमा हुने समेत मापदण्डमा उल्लेख छ ।

कार्यक्रमको पुनरवलोकन गरी अनावश्यक कार्यक्रम स्थगित हुने

चालु आर्थिक वर्षका लागि स्वीकृति कार्यक्रमहरुको पुनरवलोकन गरी आवश्यक नभएका कार्यक्रमलाई यस वर्ष स्थगित गरिने भएको छ अर्थ मन्त्रालयले अहिले बजेटको अर्धवार्षिक समीक्षामा समेत जुटेको छ । स्वीकृत कार्यक्रम पुनरवलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने मापदण्डमा उल्लेख छ ।

कार्यालय भित्र अति आवश्यक नपरेसम्म एसी, हिटर र पंखाको प्रयोग नगर्ने समेत मापदण्डमा उल्लेख छ । कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने समेत मापदण्डमा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here