काठमाडौं ।
संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने सत्तापक्षका उम्मेदवार देवराज घिमिरेलाई मत दिएन, बरु ईश्वरी न्यौपानेलाई आफ्नै उम्मेदवार बनायो । केन्द्रमा मात्र होइन, प्रदेशहरुमा पनि कांग्रेसको व्यवहारमा एकरुपता छैन ।
कतै सरकारलाई विश्वासको मत दिएको छ, कतै दिएको छैन । सभामुखमा पनि कतै उम्मेदवार बनाएको छ, कतै बनाएको छैन । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न पदमा प्रतिस्पर्धा गरे पनि जित हासिल गरेको छैन, किनभने सबै प्रदेशसभा सत्ता गठबन्धनमा रहेका दलहरुको बहुमत छ ।
एमालेलाई असहयोग
कांग्रेसले सभामुख र मुख्यमन्त्रीमा एमालेका उम्मेदवारलाई असहयोग गरेको छ । उसले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार रहेको ठाउामा आफ्नो पनि उम्मेदवार बनाएको छ र एमालेका नेता मुख्यमन्त्री बन्दा विश्वासको मत दिएको छैन ।
प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेसागको प्रतिस्पर्धामा कांग्रेसले ईश्वरी न्यौपानेलाई उठायो । एमालेबाट मुख्यमन्त्री भएका प्रदेश १ का हिक्मतकुमार कार्की, गण्डकीका खगराज अधिकारी, लुम्बिनीका लिला गिरीलाई विश्वासको मत दिएन ।
सुदूरपश्चिमका राजेन्द्र रावललाई पनि विश्वासको मत नदिने कांग्रेसबाट प्रदेशसभा सदस्य बहादुरसिंह थापाले बताए । ‘अरु तिर केन्द्रले के निर्देशन दियो, त्यही अनुसार निर्णय लिएका होलान् । सुदूपश्चिममा कांग्रेसले विश्वासको मत दिने सोंच बनाएको छैन, दिादैन’, थापाले भने ।
एमालेबाट सभामुखको उम्मेदवार बनेका मधेशका रामचन्द्र मण्डल, कर्णालीकी नन्दा गुरुङलाई पनि सर्वसम्मत हुन दिएन । मधेशमा जंगीलाल रायलाई र कर्णालीमा खडक पोखरेललाई उम्मेदवार बनायो ।
माओवादीलाई कतै सहयोग, कतै प्रतिस्पर्धा
कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । प्रदेशहरुमा भने उसको व्यवहार समान छैन ।
बागमतीका मुख्यमन्त्री माओवादीका शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दियो, तर कर्णालीका मुख्यमन्त्री माओवादीकै राजकुमार शर्मालाई विश्वासको मत नदिने कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका कांग्रेस नेता जीवनबहादुर शाही बताउाछन् ।
सभामुखमा माओवादीको उम्मेदवार रहेका प्रदेश १ र लुम्बिनीमा कांग्रेसले प्रतिस्पर्धा गरेन । त्यसैले प्रदेश १ मा बाबुराम गौतम र लुम्बिनीमा तुलाराम घर्ती सर्वसम्मत सभामुख बने ।
संसदको साझा व्यक्ति भएकाले सभामुख पदलाई सर्वसम्मत बनाउन सहयोग गरेको कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए ।





