काठमाडौं : आइसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि २ सय ९८ रनको विशाल चुनौती प्रस्तुत गरेको छ।
घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २ सय ९७ रन बनाएको हो।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो नै अहिलेसम्मको उच्च स्कोर हो। यसअघि नेपालले नामिबियाविरुद्ध ४७ दशमलव ४ ओभरमा २ सय ८७ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले शतकीय पारी खेले । १ सय १० बल खेलेका उनले १२ चौका र २ छक्काको मद्दतमा १ सय १० रन जोडे। कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ रन बनाउँदा कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ७/७ र करण केसी ८ रन बनाएर आउट भए। सोमपाल कामी ४ रनमा अविजित रहे।

किर्तिपुर क्रिकेट मैदानमा अहिले पीएनजीले जवाफी ब्याटिङ गरिरहेको छ। त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पीएनजीसँग समान २–२ खेल खेल्नेछ ।
नेपालले फागुन २८ मा युएईसँग, फागुन २९ मा पपुवा न्युगिनीसँग र चैत २ मा युएईसँग अन्तिम खेल खेल्नेछ। यसअघि नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको थियो ।घरेलु मैदानमा हुने चार खेल क्लीन स्वीप गर्न सके नेपालले शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोटमा स्थान बनाउने छ।
नेपाल ३२ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौ र समान खेलबाट ३१ अंक जोडेर युएई छैटौँ स्थानमा छ। ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसकेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here