सल्यान : बनगाड कुपिण्डे नगरपालिका–५ च्युरामा रहेको बाझकोट स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रा साउण्ड सेवा शुरु भएको छ। गाउँमै अल्ट्रा साउण्ड सेवा पाएपछि नगरपालिकाका गर्भवती महिला खुशी भएका छन्।

गर्भवती महिलालाई अल्ट्रा साउण्ड गर्न सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रा साउण्ड सेवा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए। गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रा साउण्ड अनिवार्य रहेको उनको भनाइ छ।

सुत्केरी हुनुअघि गर्भमा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने भिडियो एक्सरे सेवाका लागि सदरमुकाम वा अरू जिल्लासम्म धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अब हटेको पोखरेलको भनाइ छ।

उनले भने, ‘उपचार पनि महँगो, गर्भवतीलाई सदरमुकामसम्म जान आउन पनि समस्या भएपछि हामीले स्वास्थ्यचौकीबाटै घुम्ती रूपमा यो सेवा दिने निर्णय गरेका हौँ।’

गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रा साउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने मेयर कर्णबहादुर बुढाथोकीले बताए।

उनले भने, ‘अल्ट्रा साउण्ड गर्न सदरमुकाममा रहेको सल्यान जिल्ला अस्पताल र सुर्खेत जानुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रा साउण्ड सेवा शुरु गरिएको छ।’

नगरपालिकालाई शून्य होम डेलिभरी पालिका बनाउने अभियानमा आफूहरू लागेका प्रमुख प्रशासकीय अधिकृत जगत घर्तीले बताए। जन्मनुअघि नै बालबालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निःशुल्क सञ्चालन गरिएको उनले बताए।

‘बालबालिका सबै स्वस्थ जन्मियून् भन्ने उद्देश्यले यो सेवा थालेका हौँ’, उनले भने।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here